Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भरतपुर अस्पतालमा ट्रमा सेन्टर सेवा सुरु, १५ बेडबाट उपचार प्रारम्भ

भरतपुर अस्पतालमा ट्रमा सेन्टर सेवा सुरु, १५ बेडबाट उपचार प्रारम्भ

चितवन : संघीय सरकार अन्तर्गत  सञ्चालन हुँदै आएको भरतपुर अस्पतालले आजबाट औपचारिक रूपमा ट्रमा सेन्टरबाट उपचार सेवा सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले ट्रमा सेन्टर भवन तथा कम्पाउन्डिङ फार्मेसी–ल्याबको उद्घाटन गरेसँगै सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो।

अहिलेलाई १५ बेड क्षमतामा ट्रमा उपचार सेवा सुरु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। अस्पताल विकास समितिको आफ्नै स्रोत र आय–व्ययमार्फत बनेको ट्रमा सेन्टर भवन निर्माणमा ११ करोड खर्च भएको र सबै उपकरण जडान भएपछि लागत १३ करोड रुपैयाँ पुग्ने बताइएको छ।

नव–निर्मित ट्रमा सेन्टर ५० बेड क्षमताको रहनेछ। उद्घाटन समारोहमा मन्त्री गौतमले ४५ वर्षअघि आफू भरतपुर अस्पतालमै काम गरेको समयदेखि नै ट्रमा सेन्टर आवश्यक भएको स्मरण गर्दै आज उद्घाटन गर्न पाउँदा खुशी लागेको बताइन्।

उनले भरतपुर अस्पताललाई विशेषज्ञ अस्पतालका रूपमा विकसित गर्नुपर्ने आवश्यकता औँल्याउँदै तत्काल एमबीबीएस कक्षा सुरु गर्नुपर्ने माग भने उचित नभएको टिप्पणी गरिन्।

मन्त्री गौतमले हाल बन्द रहेको पीसीएल नर्सिङ तह पुनः संचालन गर्न सरकार तयारीमा रहेको बताउँदै अध्यादेशमार्फत अस्पतालले नै SEE पछिको पीसीएल नर्सिङ पढाउन पाउने व्यवस्था मिलाइने जानकारी दिइन्।

कार्यक्रममा बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशीले भरतपुर अस्पतालले भोगिरहेको बीमा सम्बन्धी समस्याबारे चिन्ता व्यक्त गर्दै समाधानका लागि मन्त्रीसँग हस्तक्षेपको आग्रह गरे।

समुद्घाटन कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij