म्याग्दी (दरबाङ) : रघुगङ्गा गाउँपालिकाभित्र आयोजित छैटौँ अन्तर मावि विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा मुक्तिधाम माविले उपाधि जित्यो।
वडा नं. ३ स्थित रघुगङ्गा माविको मैदानमा आइतबार सम्पन्न प्रतियोगितामा मुक्तिधाम माविले ११ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेर रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र र ६० हजार रुपैयाँ नगद पुरस्कार हात पारेको छ। यो सँगै मुक्तिधाम माविले लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो।
दोस्रो स्थानमा अमर मावि रही ९ स्वर्ण, ८ रजत र २ कांस्य पदकसहित ४० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने रघुगङ्गा माविले ४ स्वर्ण, ११ रजत र ३ कांस्य पदकसहित तेस्रो स्थानमा रहि ३० हजार रुपैयाँसहित पुरस्कार प्राप्त गर्यो।
पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल, वडा नं. ६ का अध्यक्ष मनकुमार शेरपुजा, कार्यपालिका सदस्य होमबहादुर परियार र शिक्षा शाखा अधिकृत नहेन्द्रबहादुर क्षत्री उपस्थित थिए।
प्रतियोगितामा एथ्लेटिक्स, भलिबल र कबड्डीसहित तीन खेलका कुल ३० स्वर्ण पदकका लागि १२ विद्यालयबीच तीन दिनसम्म प्रतिस्पर्धा भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij