जाजरकोट : जाजरकोटका अपाङ्गता भएका व्यक्तिहरुले राज्यले पर्याप्त अवसर नदिएको गुनासो गरेका छन्। जीवन निर्वाहका आधारभूत सुविधा तथा अवसरप्रति राज्यको बेवास्ता भएको उनीहरूको आरोप छ। जिल्लामा आयोजित एक कार्यक्रममा सहभागी अपाङ्ग व्यक्तिहरुले आफ्ना समस्या खुलस्त पोखेका हुन्।
भेरी नगरपालिका–१ का धनी खत्रीले सरकारले उपलब्ध गराउनुपर्ने सेवा–सुविधा नपाएको बताउँदै सार्वजनिक यातायातमा भाडा छुट समेत नदिने गरेको गुनासो गरे। त्यस्तै, विद्यार्थी प्रेम तिरुवाले अपाङ्गता भएका बालबालिकाका लागि शिक्षामा कुनै विशेष सुविधा नहुँदा पर्न गएको समस्या सुनाए।
अपाङ्ग स्वावलम्बन संस्था का सचिव हस्त नेपालीले सरकारी तथा गैरसरकारी कार्यालयहरूमा अपाङ्गतामैत्री पूर्वाधार नहुँदा सेवा लिन जाँदा निकै सास्ती व्यहोर्नुपरेको बताए। कार्यकक्षासम्म पुग्न चुनौतीपूर्ण हुने गरेको उनको भनाइ थियो।
यसैगरी, नेत्रहीन संघ जाजरकोटका अध्यक्ष ठगेन्द्र लुहारले जिल्लामा विशेष कक्षा सञ्चालनको व्यवस्था नै नभएको भन्दै चिन्ता व्यक्त गरे। सबै प्रकारका अपाङ्गता भएका विद्यार्थीका लागि विशेष कक्षाको व्यवस्था अनिवार्य रहेको उनको माग थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख दलबहादुर सिंहले अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकतालाई प्राथमिकतामा राखी सातै स्थानीय तहमा विशेष व्यवस्था मिलाउन समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।
अपाङ्ग स्वावलम्बन संस्थाको आयोजनामा भेरी नगरपालिका–४ को गैरीखालीबाट निकालेको र्याली खलंगा बजार परिक्रमा गर्दै अन्तरक्रियासहितको कार्यक्रम सम्पन्न भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij