Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सुनौली–दिल्ली मार्गको बसमा आगलागी: बुटवलकी २३ वर्षीया सरस्वती गम्भीर घाइते

सुनौली–दिल्ली मार्गको बसमा आगलागी: बुटवलकी २३ वर्षीया सरस्वती गम्भीर घाइते

बुटवल : पोल्यान्डमा बस्दै आएका श्रीमान्सँग बस्न जाने तयारीमा रहेकी बुटवलकी २३ वर्षीया सरस्वती पौडेल (खरेल) कागजात बनाउन दिल्लीस्थित पोल्यान्ड दूतावास जाँदै गर्दा दुर्घटनामा परेकी छिन्।

सरस्वतीलाई साथ दिन उनका सालो भाइ दिवाकर न्यौपाने (३८) सोमबार बेलहिया नाका हुँदै भारततर्फ गएका थिए।

नेपाली समय राति साढे १० बजे दिवाकरकी श्रीमती रिता न्यौपाने खरेलसँग अन्तिमपटक इन्टरनेटमा कुराकानी भएको थियो। तर, राति साढे ३ बजे आएको फोन उनी छुटाइन्।

बिहान ५ बजे फोन गर्दा उनलाई भनिएको थियो—
“तपाईंहरूको मान्छे चढेको बसमा आगलागी भयो।”

रिताका अनुसार दुर्घटनामा परेका घाइतेहरूलाई नजिकैको अस्पताल लगिएको थियो। उनका श्रीमान् दिवाकरको हात सामान्य रूपमा जलेको छ भने बुहारी सरस्वती ३० प्रतिशत जलेको अस्पतालले जनाएको छ।

रिता भन्छिन्,
“श्रीमान् सामान्य घाइते हुनुहुन्छ। औँलाहरू जलेका छन्। तर बुहारी ३० प्रतिशत जलेकी छन्।”

दुवैजनालाई कागजपत्र बनाउन दिल्लीस्थित पोल्यान्ड दूतावास जानुपर्ने भएकाले भारततर्फ यात्रा गरिएको उनले बताइन्। अहिले दुवैको लखनउस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

दिवाकर जोखिममुक्त अवस्थामा रहे पनि सरस्वतीको अवस्था अझै चिन्ताजनक रहेको रिताको भनाइ छ।
उनले थपिन्—
“डाक्टरले जलन कम गर्ने उपचार भइरहेको र दोस्रो चरण उपचार बाँकी छ भनेका छन्। आश्वासन पाएका छौँ, आत्तिनु पर्दैन रे।”

सोमबार मध्यराति भारत–नेपाल सीमा सुनौलीबाट दिल्ली जाँदै गरेको यूपी–२२–एटी ०२४५ नम्बरको निजी बसमा आगलागी हुँदा ४५ जना यात्रु सवार थिए। बसमा रहेका अधिकांश यात्रुको ठेगाना ‘बुटवल’ उल्लेख भएको प्रहरी चौकी बेलहियाका इन्स्पेक्टर हरिराम डाँगीले बताए।

उनका अनुसार घाइतेका परिवारसँग निरन्तर सम्पर्कको प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij