काठमाडौँ : ३८ औँ विश्व एड्स दिवस। नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी सोमबार मनाइँदैछ। ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो। एड्सबाट बच्ने सन्देश प्रवाह गर्दे एचआईभी संक्रमित व्यक्तिहरुलाई बाँच्न हौसला प्रदान गर्ने तथा संक्रमणबट मृत्यु भएका व्यक्तिलाई स्मरण गर्ने अवसरको रुपमा हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ। पछिल्लो एक तथ्यांकले नेपालमा ३४ हजार ३३७ व्यक्तिमा एचआईभी सङ्क्रमण रहेको देखाएको छ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले हिजो मात्रै सार्वजनिक गरेको तथ्यांकमा यो संख्या देखिएको हो। कुल एचआईभी सङ्क्रमितमध्ये ७७ प्रतिशत मात्र एन्टिरेट्रोभाइरल (एआरभी) उपचारमा छन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा हरेक दिन १.७ जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ः९५ अर्थात् ९५ प्रतिशत एचआईभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ । सरकारले हाल ६४ जिल्लाका ९६ एआरटी केन्द्रबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ।
सन् २०२४ को अन्त्यसम्म संसारमा चार करोड आठ लाख व्यक्तिमा एचआईभीसङ्क्रमित रहेको अनुमान छ। विश्वमा हरेक दिन तीन हजार ६०० मानिस एचआईभी सङ्क्रमित हुने गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij