काठमाडौं : भदौ २३–२४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा हुम्लाका थुक्तेन पाल्वर लामा दुई महिनादेखि बेपत्ता छन्। उनी भदौ २३ गते नयाँ बानेश्वर र २४ गते चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पुगेका थिए।
थुक्तेनको परिवारका अनुसार, उनी २४ गते दिउँसोदेखि हराएका थिए र हालसम्म उनको कुनै अत्तोपत्तो छैन। उनका दाइ ङ्युर तामाङले भने, “काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा खरानी राखिएको सुनेका छौँ, परिवार अहिलेसम्म पनि भाइको फर्कने पर्खाइमा छ।”
थुक्तेन नारायणथान गुम्बामा अध्ययन पूरा गरेर भतिजासँग बस्दै आएका थिए। बेपत्ता भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय हुम्ला र प्रहरी वृत्त गौशालामा खोजीका लागि निवेदन दिएका थिए। हुम्लाका डीएसपी शंकर पोखरेलका अनुसार, “चुच्चेपाटी भाटभटेनी क्षेत्रमा मिसिङ भएको भनिएको छ, खोजीका लागि तयार पारिएको फाइल गौशालामा राखिएको छ।”
प्रदर्शनका क्रममा भाटभटेनीमा आगजनी भएको थियो। सरसफाइका क्रममा चार दिनपछि सातजनाको शव जलेको अवस्थामा फेला परेको थियो। ती शवहरू त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा राखिएका छन्। विभागका प्रमुख डा. गोपाल चौधरीले भने, “पूर्ण रूपमा जलेकाले ती शवको डीएनए परीक्षणका लागि नमुना निकाल्न सकिँदैन। खरानी दुई केजीको प्लास्टिक झोलामा राखिएको छ र पहिचान हुन बाँकी छ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij