रेसुङ्गा (गुल्मी) : गुल्मीको मदाने गाउँपालिका–२, बाँझकटेरीमा रहेको मधाने सामुदायिक स्वास्थ्य केन्द्रले सञ्चालन गरेको दन्त र महिला रोगसम्बन्धी बृहत स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
तीन सातासम्म सञ्चालन भएको दन्त शिविरमा ३३६ जनाले दाँतको जाँच गराएका थिए। स्वास्थ्य केन्द्रका अनुसार २०० जनाको ३१६ वटा दाँत उखालिएको र १०१ जनाको दाँत फिलिङ्ग गरिएको थियो। शिविरमा दन्त सर्जन पवनकुमार गुप्ता र पूजा कुवँरको नेतृत्वमा उपचार गरिएको थियो। स्वास्थ्य केन्द्र प्रमुख हेल्थ असिस्टेण्ट यमलाल भुसालका अनुसार, पुरुषको तुलनामा महिलाले दोब्बर सेवा लिएका छन्।
साथै, स्वास्थ्य केन्द्रले स्थानीय विद्यालयमा ‘स्कुल हेल्थ प्रोग्राम’ सञ्चालन गर्दै शिक्षक र विद्यार्थीलाई कोलगेट ब्रस बितरण गरेको छ।
महिला रोगसम्बन्धी शिविरमा २०० भन्दा बढी महिलाले सेवा लिएका छन्। शिविरमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने र पाठेघर खसेको समस्या लिएर आएका महिलाको उपचार गरिएको थियो। पाठेघर खसेका ६ जनामा रिङ प्रेसरी राखिएको र दुई जनालाई जटिल समस्या देखिएपछि नजिकैको उच्चस्तरीय स्वास्थ्य संस्थामा रिफर गरिएको छ।
मधाने सामुदायिक स्वास्थ्य केन्द्र २०६८ सालमा स्थापना भएको हो। सदरमुकामको अस्पतालको पहुँचबाट टाढा र सडक सञ्जालको विकास नपुग्दा स्थापना भएको यस स्वास्थ्य केन्द्रले स्थानीय नागरिकलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
हाल स्वास्थ्य केन्द्रमा गुल्मी, प्युठान र अर्घाखाँचीका नागरिकहरू उपचारका लागि पुग्ने गरेका छन्। दक्ष जनशक्ति, मासिक शिविर, औषधि, उपकरण र स्वदेश तथा विदेशी विशेषज्ञ डाक्टरमार्फत उपचार उपलब्ध भएकोले मधाने सामुदायिक स्वास्थ्य केन्द्रको सामाजिक प्रतिष्ठा उल्लेखनीय रूपमा उच्च भएको भुसालले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij