म्याग्दी : प्रादेशिक अस्पताल बेनीमा हाल सुत्केरी सेवा भन्दा सुरक्षित गर्भपतन सेवा लिने महिलाको संख्या बढी देखिएको छ। विशेष गरी २० वर्ष मुनिका किशोरीहरूमा गर्भवती हुने र गर्भपतन सेवा लिने संख्या बढेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीका अनुसार, चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बेनी अस्पतालमा १७७ महिला सुत्केरी भएकी थिए भने १९१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। सोही अवधिमा सुरक्षित गर्भपतन सेवा लिने आठ र सुत्केरी हुने ३१ महिला २० वर्ष मुनिका थिए।
सन् २०८२/०८३ को साउनदेखि कात्तिकसम्मको तथ्यांक अनुसार, ३७६ महिला सुत्केरी वा गर्भपतन सेवामा सहभागी भएकीमध्ये ३९ जना २० वर्ष मुनिका थिए। यसअघि आर्थिक वर्ष २०८१/०८२ मा १३८४ महिला सहभागीमध्ये १९० जना २० वर्ष मुनिका, र २०८०/०८१ मा १४६५ महिला सहभागीमध्ये २० वर्ष मुनिका १६५ जना थिए।
जिल्लामा प्रजननयोग्य उमेर समूहका महिलाको संख्या २१,१८३ रहेको छ। सूचना अधिकारी सुवेदीका अनुसार, जिल्लाका ४७ प्रतिशत दम्पत्तिले मात्रै आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् भने ५३ प्रतिशत दम्पत्ती अझै पहुँच बाहिरै छन्।
अस्पतालका प्रमुख डा. रविरञ्जन प्रधानका अनुसार, “सुरक्षित गर्भपतन सेवाको पहुँच बढ्नु सकारात्मक हो, तर पटक-पटक गर्भपतन गर्नु स्वास्थ्यका लागि हानिकारक छ। २० वर्ष मुनिका किशोरी गर्भवती हुँदा शारीरिक र मानसिक जोखिम बढ्छ। बालविवाह र अनिच्छित गर्भधारण रोक्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना आवश्यक छ।”
म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले भने, “समाजमा विवाहको शैली फेरिएको भए पनि बालविवाह कम भएको छैन। मेलाजात्रा जस्ता सांस्कृतिक परम्पराले किशोरी र युवतीको भविष्य प्रभावित भइरहेको छ।”
नेपालमा अझै ५३ प्रतिशत महिलाले अनिच्छित गर्भधारण भोग्नुपरेको तथ्यांक छ। बालविवाह र विवाह दर्ता नहुने कारणले २० वर्ष मुनिका बालबालिकालाई शिक्षा, सरकारी सेवा र अन्य अधिकार प्रयोगमा समस्या भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij