Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘ए’ डिभिजन लिग स्थगित भएपछि फुटबल खेलाडी सडकमा, एन्फामाथि तीव्र आक्रोश

‘ए’ डिभिजन लिग स्थगित भएपछि फुटबल खेलाडी सडकमा, एन्फामाथि तीव्र आक्रोश

काठमाडौँ : तीन वर्षदेखि रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग यस वर्ष पनि नहुने भएपछि नेपाली फुटबल खेलाडीहरू सडकमा उत्रिएका छन्। ‘गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन, खेलाडीको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत गाएर खेलाडीले आफ्नो आक्रोश प्रकट गरेका हुन्।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले लिग अर्को वर्ष मात्र गर्ने निर्णय गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, पूर्वखेलाडी र समर्थकहरू बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि विरोध प्रदर्शनमा उत्रिए। नेपाल फुटबल खेलाडी सङ्घको आयोजनामा भएको प्रदर्शनमा ५० भन्दा बढी खेलाडीको सहभागिता थियो।

फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाले लिग स्थगित नगर्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै अन्ततः सडकमा आउन बाध्य भएको बताए। “हाम्रो मेहनतले बनेको मन्दिरमा हामीलाई पस्न दिइएन,” लामाले भने, “अब एक हप्ताभित्र लिगको मिति घोषणा नभए सशक्त आन्दोलन गर्छौँ।”

खेलाडीहरूले विरोधस्वरूप आफ्ना पदक एन्फाको गेटमै टाँसे। लामाले भने, “अब यो मेडल एन्फाले आफैँ आएर लैजाओस्, हामी मैदानमा होइन, अब सडकमा खेल्न बाध्य छौँ।”

त्रिभुवन आर्मीका गोलकिपर विकेश कुथुले शान्तिपूर्ण दबाब कार्यक्रमका लागि पनि एन्फा परिसरमा छिर्न नदिईएकोप्रति असन्तुष्टि जनाए। “यो खेलाडीमाथिको अपमान हो,” उनले भने, “हामी अब खेलाडीका हक र अधिकारका लागि अझ सशक्त रूपमा उठ्नेछौँ।”

पूर्वराष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह, राजेश मानन्धर लगायतले पनि खेलाडीको मागमा समर्थन जनाएका थिए। सिंहले भने, “तीन वर्षदेखि शीर्ष लिग नहुँदा खेलाडीको व्यावसायिक जीवन धरापमा परेको छ। खेलाडीको रोजीरोटीमै संकट आएको छ।”

यसैबीच, खेलकुदमन्त्री बब्लु गुप्ताले लिग तत्काल आयोजना गर्न निर्देशन दिएको भोलिपल्टै एन्फाले अर्को वर्षका लागि सार्दा खेलाडीहरू झनै असन्तुष्ट बनेका हुन्।

एन्फा र क्लबहरूबीच हालैको सहमतिअनुसार यस वर्ष राष्ट्रिय लिग हुने र ‘ए’ डिभिजन लिग आगामी वर्ष ‘होम एन्ड अवे’ ढाँचामा गर्ने भनिए पनि खेलाडीहरूले सो निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

फुटबल समर्थक मुकुन्द रोकायाले भने, “खेलाडीलाई मैदान चाहिएको हो, सडक होइन।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij