Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आइसिसी विश्वकप लिग–२ : नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित

आइसिसी विश्वकप लिग–२ : नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित

काठमाडौँ : आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ।योसँगै नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जीतविहीन बनेको छ। आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो।

त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार विकेटले पराजित भएको थियो भने युएईसँग पाँच विकेटको हार बेहोरेको थियो। आज नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य पछ्याएको युएईले पाँच बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। युएईका लागि मोहम्मद शहदादले १२३ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९६ रनको योगदान गरे।

त्यसैगरी मोहम्मद वासिमले ७३ बलमा चार चौका र तीन छक्कासहित ७६ रन बनाए भने सोहेब खानले २९, कप्तान अलिसान शराफुले १८ तथा हर्षित कौशिकले १३ रन बनाए। नेपालका लागि करण केसीले तीन विकेट लिँदा नन्दन यादव, ललितनारायण राजवंशी र सन्दीप लामिछानेले समान एक एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको थियो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रनको योगदान दिए। त्यस्तै कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० तथा सन्दीप लामिछानेले अविजित १५ रन बनाए।

यता युएईका लागि जुनैद सिद्दिकी, मोहम्मद जवादुल्लाह र ध्रुव परासरले समान दुई/दुई विकेट लिए भने जाहिद अलीले एक विकेट लिए।यो हारसँगै २० खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ। जितसँगै युएई समान खेलबाट १० अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij