काठमाडौं : आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ।
आईसीसी एकेडेमी ग्राउण्डमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लगातार तीन हार बेहोरेको नेपाल यस सिरिजमा जितविहीन बन्ने जोखिममा छ। अमेरिका र यूएईसँगका सुरूवाती दुई खेलमा एकपक्षीय हार बेहोरेको नेपालले अमेरिकासँगको तेस्रो खेलमा केही सुधारिएको खेल प्रदर्शन गरे पनि जित हात पार्न सकेन।
अमेरिकालाई २ सय ७२ रनको लक्ष्य दिए पनि नेपालले यो योगफललाई रक्षा गर्न सकेको थिएन । लगातार हारले नेपालको सिधै विश्वकप छनोटसम्म पुग्ने सम्भावना कठीन बन्दा एकदिवसीय मान्यता जोगाउन पनि निकै सुधारिएको प्रदर्शन गर्नु पर्नेछ। अपराजित रूपमा टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्दै २०२६ मा स्थान सुरक्षित गरेको नेपालले ओडीआईमा भने कमजोर प्रदर्शन गरेको छ।
सिरिजमा तीन खेल हारेको नेपाल सान्त्वना जितको खोजीमा हुने छ। अघिल्लो खेलमा अमेरिकासँग २ सय ४३ रनको फराकिलो हार बेहोरेको यूएईले पनि घरेलु मैदानमा कमजोर प्रदर्शन गरेको छ। यस सिरिजमा यूएई अमेरिकासँगका दुबै खेलमा पराजित भएको छ भने नेपालविरूद्ध जित हात पारेको छ।
लिग–टूमा नेपाल हाल १९ खेलमा १२ अंकसहित सातौं स्थानमा छ। समान खेलमा ८ अकं जोडेको यूएई पुछारमा छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij