काठमाडौँ : आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ।हारसँगै १७ खेलमा नेपालले १२ अंक जोडेको छ। १२ अंकसँगै नेपाल सातौँ स्थानमा छ। नेपाललाई हराएको अमेरिका २१ खेलमा ३० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार युएईको दुबई अन्ताराष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमै समेटियो।नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४०, आसिफ शेखले ३७, भीम सार्कीले २९, आरिफ शेखले २० र सोमपाल कामीले ११ रन बनाए।
अमेरिकाका लागि हर्मित सिंहले ८.१ ओभरमा एक मेडनसहित मात्र २७ रन खर्चिएर ६ विकेट लिए। यसैगरी शुभम रञ्जनेले दुई तथा रुशिल उगारकरले एक विकेट लिए।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रनको योगफल तयार पारेको थियो।अमेरिकाका लागि स्मिथ पटेलले १०० बलमा ९ चौकाको मद्दतले सर्वाधिक ७५ रनको योगदान गरे। यसैगरी मिलान्ड कुमारले ५० बलमा ६ चौका र दुई छक्कासहित अविजित ७०, साइतेजा मुक्कामल्लाले ४२, शुभम् रञ्जनेले १९, आन्द्रियस गौस र शयान जहाँगिरले समान ११ रन तथा कप्तान मोनंक पटेलले १० रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij