काठमाडौं : बंगलादेशमा आजदेखि सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्स कप सुरु हुँदैछ।अक्टोबर २२ देखि २८ सम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले तुर्किमिनिस्तानसँग खेल्नेछ। खेल विहान १० बजे सुरु हुनेछ।
अक्टोबर २३ मा हुने दोस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ। त्यसको एक दिनपछि माल्दिभ्ससँग खेल्ने तालिका छ।मुख्य प्रशिक्षक भरत यादवको नेतृत्वमा टोलीको कप्तानी हरिहजुर थापाले गर्नेछन्।आर्मीबाट व्यावसायिक भलिबल खेल्दै आएका हरिहजुरलाई एनभिएले गत शुक्रबार दोस्रो पटक कप्तानमा नियुक्त गरेको थियो।दुई वर्षअघि पहिलो पटक देशको कप्तानी गर्ने अवसर पाएका हरिहजुर अनुशासनहीन काम गरेपछि एक महिनामै निलम्बनमा परेका थिए।
हरिहजुरपछि गत वर्षको कार्तिकमा टोलीको कप्तानमा आर्मीकै मानबहादुर शाही नियुक्त भएका थिए। तर, उनी भविष्यको सुनिश्चितका लागि अस्ट्रेलिया पलायन भए। त्यसयता टोली कप्तानविहीन थियो।
राउन्ड रोविन लिगको चौथो खेलमा नेपालले एक दिनको आरामपछि अफगानिस्तानसँग खेल्नेछ। त्यसपछि अक्टोबर २७ मा नेपालले श्रीलंकासँग खेल्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij