काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले इरान र भारतसँगको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।
सावित्रा भण्डारी साम्बाको कप्तानीमा रहेको टिममा सजनी थोकर, हिराकुमारी भुजेल र दीपा शाहीले पुनरागमन गरेका छन्। हिरा र दीपा गत वर्षको साफ महिला च्याम्पियनसिपका क्रममा घाइते भएका कारण टिमबाट बाहिर थिए। पूर्णिमा राई र मीना देउवाले पहिलोपटक सिनियर टिममा स्थान बनाएका छन्। यो जोडी यसअघि यू(२० टोलीमा सामेल थिए।
विमला चौधरी, अनिता केसी र चन्द्रा भण्डारी भने टिमबाट बाहिरिएका छन्। यी खेलाडीले एएफसी एसियन कप छनोट खेलेका थिए। हालै चोटमुक्त भएकी गीता रानाले पनि टिममा स्थान बनाउन सकिनन्। नवनियुक्त प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा नेपालले पहिलो पटक खेल्न लागेको हो।
नेपालले भारतमा यही कात्तिक ७ गते इरान र कात्तिक १० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्ने छ। नेपालको टोलीमा कप्तान सावित्रा भण्डारीसँगै अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा र बिमला बिक रहेका छन्।
यस्तै दीपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मीना देउवा, निशा थोकर र प्रीति राई पनि २३ सदस्य टोलीमा सामेल गरिएको छ। प्रतिक्षा चौधरी, पूजा राना, पूणिर्मा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, र सबिता राना मगर पनि टिममा छन्। सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरू लिम्बु र उषा नाथलाई पनि टिममा सामेल गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij