काठमाडौं : नेपालले आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो।
ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भएको हो।
कुवेतका लागि ओपनर ब्याटर क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए। उनले २३ बलमा २ छक्का प्रहार गरे। मित भवासारले ११, यासिन पटेलले १९ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि बलिङतर्फ, कप्तान रोहित पौडेल र सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए। सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले १-१ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए। उनले ५६ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे। उनले टी२० अन्तर्राष्ट्रियमा १२औं अर्धशतक प्रहार गरेका थिए। कप्तान रोहित पौडेलले १६, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान २०-२० रन बनाए। सोमपाल कामी १ र नन्दन यादव २ रनमा अविजित रहे।
कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदिप चन्दामाराले समान २-२ विकेट लिए। मोहम्मद अकिफ फारुक र मोहमद अस्लमले १-१ विकेट लिए। यो जितसँगै नेपालले सुपर सिक्समा आफ्नो स्थान पक्का गरेको छ।
नेपालले अब समूह चरणको दोस्रो खेलमा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र जापानबीचको खेल शुक्रबार अल अमेरतमै हुने तालिका छ । प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह चरणबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा प्रवेश गर्नेछन् । जहाँबाट तीन टिमले आगामी वर्ष दक्षिण एसियाकै दुई मुलुक भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij