काठमाडौँ : नेपाली क्रिकेटले इतिहास रचेको छ। नेपालले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० शृङ्खला जित्दै आफ्नो क्रिकेट क्षितिज विस्तार गरेको छ। यो नेपालका लागि आइसिसी पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृङ्खला खेल्ने पहिलो अनुभव थियो।
संयुक्त अरब इमिरेट्सको शारजाहा क्रिकेट मैदानमा भएको शृङ्खलामा नेपालले पहिलो खेल १९ रनले जितेको थियो। दोस्रो खेलमा ९० रनले विजयी बनेर नेपालले शृङ्खला कब्जा गर्यो। तेस्रो खेलमा नेपाल पराजित भए पनि शृङ्खला जितको उपलब्धिले नेपाली क्रिकेटमा नयाँ आत्मविश्वास थपेको छ।
पहिलो खेलमा कप्तान रोहित पौडेल र कुशल मल्लको व्याटिङले निर्णायक भूमिका खेलेको थियो। दोस्रो खेलमा आसिफ शेखले अविजित ६८ रन बनाउँदै टिमलाई बलियो स्थिति दिएका थिए भने सन्दीप जोराले ६३ रनको प्रभावशाली प्रदर्शन गरे। बलिङमा आदिल आलम र कुशल भुर्तेलले महत्वपूर्ण विकेट लिए, र फिल्डिङमा नेपाली टिमले उत्कृष्ट प्रदर्शन देखायो।
यस शृङ्खलाको जितले नेपाललाई विश्वका ठूला क्रिकेट राष्ट्रसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएको प्रमाणित गरेको छ। साथै, यो नेपालका लागि आगामी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा उच्च मनोबलसहित प्रवेश गर्ने तयारीको संकेत पनि हो। नेपाल अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने प्रतियोगितामा जापान र कुवेतसँग खेल्ने छ।
नेपालका क्रिकेट प्रेमीले टिमको यो सफलताप्रति उत्साह व्यक्त गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शनको आशा राखेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij