चितवन : २३ र २४ गते जेन–जी आन्दोलनले देशभरका प्रशासनिक निकाय, सरकारी भवन र सञ्चारगृहहरूलाई आगजनी र तोडफोडको निशाना बनाउँदा चितवनकै माडी नगरपालिका भने अपवाद बन्यो। यहाँ सार्वजनिक सम्पत्ति जोगाइँदै आन्दोलनलाई विकासमुखी मोडमा लैजान सकियो। चितवनका सात स्थानीय तहमध्ये छ वटामा सरकारी संरचना जलेर नोक्सानी हुँदा माडी नगरपालिका भने सुरक्षित रह्यो।
यसको श्रेय मेयर ताराकुमारी काजी महतोको सक्रिय संवाद र युवाहरूको संयमित भूमिकालाई दिइएको छ। युवाको आक्रोश, नेताको आग्रह २४ गते बिहानैदेखि जेन–जी र जेन–वाई पुस्ताका युवाहरू सडकमा उत्रिए। प्रारम्भमा दलका पार्टी कार्यालय तथा विद्यार्थी संगठनका बोर्ड हटाइए र जलाइए। तर, मेयर महतोले आन्दोलन अगुवाहरूसँग पटक–पटक सम्पर्क गर्दै सार्वजनिक सम्पत्ति नजलाउन आग्रह गरिन्। त्यसपछि सर्वपक्षीय बैठक बसेर शान्तिपूर्ण आन्दोलन गर्ने सहमति जुटाइयो। फेसबुक पोस्टले मोडियो आन्दोलन उता, एमाले परित्याग गरेका नेता टीकाराम सुवेदी (टीआर सुवेदी) ले फेसबुकमा लेखे, “नगरपालिकाले जंगल हुँदै भरतपुर जोड्ने सडक तुरुन्तै स्तरोन्नति गर्ने निर्णय गर्नुपर्छ, नसक्ने हो भने बाटो खोलिदिनुपर्छ।” यो पोस्टपछि आन्दोलनको स्वरुप बद्लियो।
युवाहरूले अब सरकारी भवन जलाउने होइन, दशकौँदेखि अधुरो सडक सुधारका लागि दबाब दिने रणनीति बनाए। तत्काल निर्णय : ५ करोड २५ लाख सडकमा आन्दोलनकारीले नगरपालिकामै दबाब सिर्जना गरेपछि विशेष नगरसभा बोलाइयो। बैठकले श्रद्धाञ्जली प्रस्ताव पारित गर्दै तत्कालै ५० लाख रुपैयाँबाट सडक मर्मत गर्ने र थप ५ करोड २५ लाख रुपैयाँ विनियोजन गरेर भरतपुर–माडी सडक चौडाइ र स्तरोन्नति गर्ने निर्णय गर्यो। ‘सार्वजनिक सम्पत्ति जोगायौँ, सडक माग गर्यौँ’ आन्दोलनका अगुवा पदम पन्त भन्छन्, “हामीले दलहरूको बोर्ड जलाएर चेतावनी दियौँ तर सरकारी सम्पत्ति जोगायौँ। मुख्य कुरा सडक सुधार थियो, त्यसैमा दबाब केन्द्रित गर्यौँ।” बुद्धिमत्तापूर्ण आन्दोलन प्रदेश सांसद तथा माडीका पूर्वमेयर ठाकुर ढकालले माडीको आन्दोलनलाई “बुद्धिमत्तापूर्ण” भन्दै भने, “देशभर विनाशकारी दृश्य देखिँदा माडीले विकासलाई प्राथमिकतामा राखेर नयाँ उदाहरण प्रस्तुत गर्यो।” माडी नगरपालिकामा जेन–जी आन्दोलनले तोडफोड र आगजनीलाई रोक्दै सडक सुधारको एजेन्डा अघि सारेपछि यो आन्दोलन ‘विनाशकारी’ होइन, ‘रचनात्मक दबाब आन्दोलन’ को नमूना बनेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij