Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भरतपुर कारागारबाट भागेका कैदी/बन्दी, चितवन निकुञ्जको सुरक्षा : त्रास र चुनौती

भरतपुर कारागारबाट भागेका कैदी/बन्दी, चितवन निकुञ्जको सुरक्षा : त्रास र चुनौती

चितवन : भरतपुर कारागारबाट भागेका कैदी/बन्दी र सुरक्षाकर्मीका हतियार हराउँदा सर्वसाधारण त्रसित भएका छन्। चितवन राष्ट्रिय निकुञ्जमा पनि वन्यजन्तु संरक्षणमा चुनौती बढेको छ।गत बुधबार बिहान करिब ७ सय कैदी/बन्दी कारागारबाट भागेका थिए। कुल ७ सय ४० कैदीमध्ये भाग्न नचाहेकालाई कारागारले घर पठाएको थियो। शनिबारसम्ममा भागेका १८० जनालाई फिर्ता ल्याइएको छ भने बाँकीको खोजी जारी छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार, “उपलब्ध जनशक्ति, हात्ती र सबै साधन स्रोतको अधिकतम उपयोग गरेर काममा खटेका छौं। आन्दोलनको क्रममा सुरक्षाकर्मीका हतियार हराएको सुनिएको छ। यसको दुरूपयोग हुन सक्ने सम्भावना छ। निकुञ्ज प्रशासन र नेपाली सेना यस विषयमा सचेत छ।”देशमा राजनीतिक अस्थिरताको बेला जैविक विविधता जोखिममा पर्ने इतिहास छ। माओवादी द्वन्द्वको उच्च चरण (आर्थिक वर्ष २०५७/०५८) मा चितवन निकुञ्जका ३७ एक सिंगे गैंडा सिकारीले मारिएका थिए। २०६२ सम्म खागका लागि गैंडा मार्ने क्रम बढेको थियो। अहिले जेन–जेड आन्दोलनपछि सुरक्षा व्यवस्था कडा गरिएको छ।डा. पन्तले थपे, “वन्यजन्तु अपराधमा संलग्न व्यक्तिहरू सजाय पूरा नगरी छुट्दा समस्या आउनसक्छ। छुटेका कैदीहरूको विवरण संकलन गरेर निगरानी बढाएका छौं। केही फिर्ता भइसकेका छन्, केहीलाई २–३ दिनको समय दिएका छौं। कानूनले तुरुन्त कारबाही नदिने भएकाले हामी सचेत रहनुपर्छ।”

नयाँ गोरखा गणका गणपति शिवराम बस्न्यातले भने, “भागेका कैदी नियन्त्रणमा ल्याउने काम थालिएको छ। वन्यजन्तु अपराधमा संलग्न कैदीको निगरानी पनि बढाएका छौं। जनशक्ति सीमित भए पनि निकुञ्ज संरक्षणमा असर पर्न दिँदैनौं।”भरतपुर कारागार प्रमुख रविन्द्रप्रसाद ढुंगानाका अनुसार, भागेका ५० जना एक सिंगे गैंडा सम्बन्धित अपराधमा संलग्न थिए। “परिवारको सम्पर्कमा फोन गरेर फिर्ता आउन आग्रह गरिरहेका छौं। सुरक्षाकर्मी पनि यसमा लागिरहेका छन्। भारततर्फ भाग्दै गरेका ४ जनालाई बेलहिया नाकाबाट नियन्त्रणमा लिएर फिर्ता ल्याएका छौं।”जिल्ला सुरक्षा समिति र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि सबै भागेका कैदी/बन्दीलाई इमानदारितापूर्वक फिर्ता हुन र लुटिएका हतियार, गोलीगठ्ठा तथा सञ्चार सेट बुझाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij