Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अभिभावकविहीन कोठे चेपाङ: जडीबुटी बेचेर भाइको शिक्षा र आफ्नो पहिचानको खोजी

अभिभावकविहीन कोठे चेपाङ: जडीबुटी बेचेर भाइको शिक्षा र आफ्नो पहिचानको खोजी

रत्ननगर : इच्छाकामना गाउँपालिकाको काउलेमा जन्मिएका १७ वर्षीय कोठे चेपाङको जीवन कथा संघर्ष र आशाको मिश्रण हो। बाल्यकालमा नै बुबा-आमाको साथ गुमाएका उनले जडीबुटी संकलन गरेर आफ्नो र भाइको गुजारा चलाइरहेका छन्, तर उनको मनमा भाइलाई पढाउने सपना भने जीवितै छ। नागरिकता बनाउने उमेर पुगिसके पनि अभिभावकविहीन भएका कारण उनलाई भविष्यको चिन्ताले सताइरहेको छ।

कोठे चेपाङ १७ वर्षअघि बुबा श्याम चेपाङ र आमा मंगली चेपाङको कोखबाट जन्मिएका हुन्। तर, जब उनी १० वर्षका थिए, बुबा-आमाले उनलाई र एक वर्षका भाइ सुशील चेपाङलाई छोडेर गए। कोठेका अनुसार, बुबाले दोस्रो विवाह गरे भने आमाले पनि दोस्रो विवाह गरी घर छोडिन्। अभिभावकविहीन भएका दाजुभाइलाई हजुरबुबा सोनबहादुर चेपाङ र हजुरआमा सोमी चेपाङले शरण दिएर हुर्काए। काउलेको स्थानीय विद्यालयमा कक्षा ४ सम्म पढेका कोठेले अभिभावक गएपछि पढाइ छोड्नुपर्‍यो। “नचाहँदा नचाहँदै पढाइ छोड्नुपर्‍यो,” उनी सम्झन्छन्।

समय बित्दै जाँदा कोठेको उमेर बढ्यो र जीवनको जिम्मेवारी पनि थपियो। आफ्नो गुजारा चलाउन उनले गाउँका स्थानीयसँग मिलेर जडीबुटी संकलन गर्न थाले। केही महिनादेखि उनी काउलेबाट जडीबुटी ल्याएर रत्ननगरको बजारमा बेच्दै आएका छन्। हामीले उनलाई सौराहा चोकमा जडीबुटी बेच्दै गर्दा भेटेका थियौं। आजकल उनी कालिका नगरपालिकाको क्लब चोकमा हजुरबुबाको आफन्तकहाँ बस्छन्, जसले गर्दा बजार नजिक भएर जडीबुटी बेच्न सहज भएको छ। दिउँसो रत्ननगरको बजारमा जडीबुटी बेच्ने र बेलुका क्लब चोक फर्किने उनको दैनिकी छ। हरेक महिना जडीबुटी लिन उनी आफ्नै गाउँ काउले पुग्छन्।

“जडीबुटी बेचेर कत्तिको आम्दानी हुन्छ?” भन्ने हाम्रो प्रश्नमा कोठेले मुस्कुराउँदै भने, “खान र गुजारा गर्न पुग्छ।” तर, उनको जीवन यतिमै सीमित छैन। सानै उमेरमा पढाइ छोडेका उनलाई भाइ सुशीललाई पढाउने इच्छा छ। “आफू त परिस्थितिले पढ्न पाइनँ, भाइलाई चाहिँ पढाउने इच्छा छ,” उनले भने । उमेर बढ्दै जाँदा जिम्मेवारी पनि थपिएको छ। अब त नागरिकता बनाउने उमेर पुगिसक्यो, तर बुबा-आमा नभएपछि नागरिकता कसरी बन्छ भन्ने चिन्ता उनलाई छ। “आमा-बुबा खोज्न जाने पनि कता जाने थाहा छैन,” उनी भन्छन्। “धेरै वर्ष भइसक्यो छोडेर गएको, चिन्न पनि सक्छु, नचिन्न पनि सक्छु,” उनले मलिन अनुहारमा जवाफ दिए।

कोठेको कथा एउटा साधारण बालकको संघर्ष मात्र होइन, यो अभिभावकविहीन बालबालिकाको प्रतिनिधि कथा पनि हो। समाजले यस्ता युवाहरूलाई सहयोग गरेमा उनीहरूको भविष्य उज्यालो हुन सक्छ। कोठे जस्ता धेरै युवाले आफ्नो सपना पूरा गर्न संघर्ष गरिरहेका छन्, र उनीहरूको लागि शिक्षा र नागरिकताजस्ता आधारभूत अधिकार सुनिश्चित गर्नु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट