Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चेपाङको जग्गा व्यापारीले हडपेको चर्चा

चेपाङको जग्गा व्यापारीले हडपेको चर्चा

चितवनका भूमिपुत्र बताउने थारुहरुको पहिले प्रशस्तै जग्गाजमिन थियो भनिन्छ । कतिको अझै पनि छ । सोझा थारुहरुलाई रक्सी खुवाएर, विभिन्न प्रलोभन र झुक्क्यानमा पारेर मधेसी र टाठाबाठा बाहुनक्षेत्रीले उनीहरुको जग्गा आफ्नो बनाएको किस्सा धेरै सुनिन्छन् । यसैबीच मधेसीमूलका एक व्यक्तिले चितवनका चेपाङको पनि यसरी नै जग्गा हडपेको गुनासो छ ।

कालिका नगरपालिका–८ निवासी हिमाल चेपाङको साथबाट वीरगञ्ज घर बताउने व्यक्तिले कालिका–८ कै कालिकामन्दिर पछाडि न्युरेनीमा रहेको १५ कठ्ठा जमिन आफ्नो पोल्टामा पारेको बताइन्छ । चितवनकै दुईजना चिनेजानेका मानिसको सम्पर्कबाट हिमाललाई साथी बनाएका ती मधेसीले बिजनेस गर्न भनी एक वर्षका लागि लिएको जमिन सुरुमा शोभा शंकर साह तेलीको नाममा राजीनामा पास गरेको पाइएको चेपाङ परिवारले बताएका छन् ।

स्व. आइतराम प्रजाका चार भाइ छोरामध्ये साहिला र माइलाले आफ्नो अंशको जग्गा लिइसकेको भएपनि जेठा बुद्धिबहादुर र कान्छा हिमालबीच भागबण्डा भइनसकेको जिउनीसमेतको जग्गा जालसाजीपूर्ण तवरले हडप्ने काम भएको हिमालकी भाउजू डिलमाया चेपाङले बताइन् । चामलको व्यापार गर्ने मधेसीले एक वर्षमा फर्काउँछु भनेर फकाइफुल्याइ लिएको जमिन सित्तैमा कब्जाएको उनको भनाइ छ ।

नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, महासचिव सन्तबहादुर चेपाङ र जिल्ला अध्यक्ष सहित अस्ति पत्रकार महासंघ चितवनमा आएर डिलमायाले आफ्ना कुरा राखेकी हुन् । उनीहरुका अनुसार २९ लाखमा किनबेच भएको कागज देखिन आएपनि हिमालले सुको नलिएको, पानीसमेत नखाएको बताउने गरेका छन् । हिमाल अहिले वैदेशिक रोजगारीमा मलेसिया रहेको जानकारी उनीहरुले गराए ।

हिमालसमेतलाई विपक्षी बनाएर आफ्नो जग्गा खाइदिएको भन्दै शोभा शंकर साह तेलीलगायत थुप्रैलाई मुद्दा हालेका जेठा बुद्धिबहादुरचाहिँ अस्ति पत्रकार महासंघमा उपस्थित थिएनन् । सो जमिन शोभा शंकर हुँदै क्रमशः अरुहरुकै नाममा किनबेच भइसकेको देखिन्छ ।

‘मेरो समेत अंश भाग लाग्ने हिमाल चेपाङको नाउँमा मालपोत कार्यालय चितवनमा दर्ता रहेको जुटपानी २-ख को कित्ता नं. ७५३ को ज.वि. ०–६–१७.७५–० (क्षेत्रफल २३३२.२९ वर्गमिटर) र ऐ.ऐ. कि.नं. ७५७ को ज.वि. ०–७–३.७५–० (क्षेत्रफल २४३३.९ वर्गमिटर) जग्गा शोभा शंकर साह तेलीलाई २०७४/२/१६ गतेका दिन राजीनामा लिखत मार्फत् पारित गरी लिएदिएको र शोभाबाट लगत्तै रामनरेश साह हुँदै रामनरेशबाट अहिले ओलकबहादुर सुनार, अनुज सुनार, रामबहादुर, डिलबहादुर भण्डारी, विन्नर, रिखीराम फुयाल लगायतको नाममा राजीनामा पारित भइसकेको’ भन्दै दूषित राजीनामा लिखत बदरको फिराद र जालसाजी मुद्दा लिएर बुद्धिबहादुर अहिले जिल्ला अदालत पुगेका छन् । अदालतले सम्बन्धितहरु सबैका नाममा उपस्थित हुन चिठी पनि काटिसकेको चेपाङ संघका केन्द्रीय अध्यक्षले बताए ।

कालिका नगरपालिकाको वडा नं.९ मा पनि चेपाङको जग्गा यसरी नै अरुले जालसाजी गरेर खाइदिएको भन्ने छ । अध्यक्ष गोविन्दरामले भने, ‘शेरबासको घटना यस्तै खालको थियो ।’ थारु समुदायमा यस्तो समस्या अझ धेरै देखिएको उनले पनि बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट