Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

‘इलाका प्रशासनको खर्चिलो बाटो छोडेर हुलाकलाई नागरिकको दैलोमा पुर्याऔं’

‘इलाका प्रशासनको खर्चिलो बाटो छोडेर हुलाकलाई नागरिकको दैलोमा पुर्याऔं’

रत्ननगर : खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले इलाका प्रशासन कार्यालय स्थापनाको परम्परागत ढाँचामाथि प्रश्न उठाउँदै यसलाई युग सुहाउँदो नभएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरेको विचारमा इलाका प्रशासन कार्यालयको सट्टा स्थानीय सरकार र हुलाक सेवालाई सशक्त बनाएर नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न सकिने धारणा राखेका छन्।

सापकोटाले इलाका प्रशासन कार्यालयले प्रदान गर्ने मुख्य दुई सेवा—नागरिकता र पासपोर्ट—को लागि ठूलो रकम खर्चेर कार्यालय सञ्चालन गर्नुको औचित्य नरहेको बताए। “नागरिकताको सेवा सामान्यतया जीवनमा एकपटक लिइन्छ, पासपोर्ट पनि दशकमा एकपटक। यति सेवाको लागि घर भाडा, गाडी, इन्धन, पानी, बिजुली र तलबभत्तामा राज्यको उल्लेख्य रकम खर्च हुन्छ,” उनले लेखेका छन्।

उनले डिजिटल प्रणालीको उपयोग गरेर नागरिकता र पासपोर्ट सेवालाई थप सहज बनाउन सकिने विकल्प प्रस्तुत गरे। “जन्मदर्ता गर्दा नै व्यक्तिका सबै विवरण प्रणालीमा प्रविष्ट हुन्छ। वडा कार्यालयबाट बायोमेट्रिक प्रमाणीकरण गरी अनलाइन आवेदन गरेपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता बनाएर नागरिकको दैलोमा पुर्याउन सकिन्छ,” उनले सुझाए। उनका अनुसार, नागरिकताको सिफारिस अनलाइनबाटै भइसकेको अवस्थामा स्थानीय सरकारलाई थप अधिकार दिएर यस्ता सेवा प्रभावकारी बनाउन सकिन्छ।

सापकोटाले इलाका प्रशासन कार्यालयको सट्टा हुलाक सेवाको आधुनिकीकरणमा जोड दिएका छन्। उनले हुलाकमार्फत नागरिकता, औषधि लगायतका आधारभूत वस्तु र सेवा घरघरमै पुर्याउन सकिने बताए। “हुलाक गतिलो नहुँदा काठमाडौंबाट ५० रुपैयाँको सामान मगाउन कुरियरलाई १०० रुपैयाँ तिर्नुपर्ने अवस्था छ। हुलाकमार्फत स्वास्थ्य बीमाअन्तर्गत नियमित औषधि सेवन गर्ने वृद्धवृद्धालाई घरमै औषधि पुर्याउन सकिन्छ,” उनले उदाहरण दिए।

उनले विश्वका धेरै देशमा हुलाकले सार्वजनिक सेवा प्रवाहमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको उल्लेख गर्दै नेपालमा भने हुलाक सेवा “चिठ्ठीको खामभित्र निसास्सिएर मर्न थालेको” टिप्पणी गरे। “दुनियाँ AI को पखेटा जोडेर उडिरहेको छ, हामी वेतको बैशाखी पाउँदा मख्ख छौं,” उनले व्यंग्यात्मक रूपमा लेखे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट