Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भरतपुर महानगरपालिकाको खानेपानी समस्या समाधानतर्फ

भरतपुर महानगरपालिकाको खानेपानी समस्या समाधानतर्फ

चितवन : भरतपुर महानगरपालिका अन्तर्गत पश्चिम चितवनमा खानेपानीको समस्या समाधान हुने भएको छ । महानगरपालिका–२० र २५ मा खानेपानीको समस्या भोग्दै आएका स्थानीयले अब पानीको समस्याबाट मुक्ति पाउने भएका छन् ।

खानेपानीको अभाव झेल्दै आएका वडा नं. २० का बासिन्दाको समस्या समाधानका लागि सङ्घीय सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा चार लाख ५० हजार लिटर क्षमताको खानेपानी ओभरहेड ट्याङ्की निर्माण सुरु भएको छ ।

विसं २०८२ जेठ १९ गते सम्झौता भएर निर्माण भइरहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर चिरञ्जीवी सेढाईंले जानकारी दिनुभयो । गुञ्जनगर सहलगानी खानेपानी आयोजना अन्तर्गत काम भएको हो । आयोजना अन्तर्गत ४५ किलोमिटर पाइपलाइन बिछ्याइने छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी गौतम निर्माण सेवा कम्पनीसँग सम्झौता भएको सूचना अधिकारी सेढाईंले जानकारी दिनुभयो । अहिले ट्याङ्की निर्माण भइराखेको छ ।

महानगरपालिका–२० का अध्यक्ष मुक्तिप्रसाद घलेले दुःखका साथ खानेपानीको व्यवस्था भइराखेको जानकारी दिनुभयो । एउटा वडामा पानीको व्यवस्था गर्न वडा नंं. १८, १९, २५ र १५ बाट पानी ल्याएर वडावासीलाई खुवाउँदै आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बिहानबेलुका मुस्किलले पानी पुगेको छ । केही उत्सव, सामूहिक ठुला कार्य भएमा पानी किनेर ल्याउनुपर्ने हुन्छ । अब ट्याङ्की निर्माण भएर वितरण सुरु भएमा वडावासीलाई खानेपानीको अभाव हुने थिएन ।” सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर सेढाईंले यस वडामा निर्माण हुँदै गरेको आयोजनाको लागत पाँच करोड १६ लाख ३७ हजार रुपियाँ रहेको जानकारी दिनुभयो । दुई वर्षमा निर्माण पूरा हुने सम्झौतामा उल्लेख गरिएको छ ।

त्यस्तै गरी वडा नंं. २५ मा पनि खानेपानीको ट्याङ्की निर्माण हुँदै गरेको छ । शुव्रmनगर सहलगानी खानेपानी आयोजना अन्तर्गत निर्माण हुने यस कार्यका लागि १० करोड ३० लाख ४५ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ । गौतम निर्माण सेवा कम्पनीले निर्माणको जिम्मा लिएको यस आयोजनामा एउटा बोरिङमार्फत पानीको व्यवस्था गरिने भएको हो । दुई हजार दुई सय घरधुरी रहेको वडामा खानेपानीको समस्या बर्सौंदेखि भोग्दै आएको वडाध्यक्ष छविलाल सापकोटाले भन्नुभयो ।

“महानगरवासीले पनि खानेपानीको समस्या भोग्नु परेको अचम्म लाग्ने अवस्था छ । हरेक वर्ष नयाँ घर थपिँदै गएका छन्,” उहाँले भन्नुभयो, “खानेपानीको समस्या अझ वृद्धि भएको छ ।” पानी ट्याङ्की निर्माणपछि पाइप बिछ्याउने काम हुने छ । यसपछि यहाँका बासिन्दालाई पानीको सुविधा हुने उहाँले बताउनुभयो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय चितवनका सूचना अधिकारी सेढाईंले ३४ किलोमिटर पाइप बिछ्याउने तयारी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरपालिकाको चार वटा वडामा अहिले खानेपानी ट्याङ्की निर्माणको आयोजना अन्तर्गत काम भइराखेको छ । वडा नं. ३ नारायणगढ बजार, वडा नं. ८ गौरीगन्ज क्षेत्र, वडा नं. २० र वडा नं. २५ मा खानेपानी विस्तार हुँदै गरेको छ । चार वटै स्थानमा दुई वर्षभित्र पानीको सुविधा पुग्ने छ । यो योजना निर्माण पूरा भएपछि महानगरपालिकाभित्र पानीको असुविधाको अवस्था हट्ने सेढाईंले बताउनुभयो ।गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट