Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनमा झार मार्न अत्याधिक विषादी प्रयोग, मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव

चितवनमा झार मार्न अत्याधिक विषादी प्रयोग, मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव

चितवन : किरा र रोगबाट बचाउन किसानले विषादीको प्रयोग गर्ने गरेको त छँदैछ तर केही वर्षयता खेतबारी, घरआँगन, बाटो, सडक किनार, चौरलगायतका स्थानमा झार मार्न पनि विषादीको प्रयोग बढ्दो छ । त्यसले बोटबिरुवालाई गर्ने हानि त छँदैछ मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्न थालेको छ ।वर्षामा घरआँगन वरपर उम्रने झार, दुवोलगायतको हरियो वनस्पतिलाई उखलेर फाल्नुभन्दा विषादी हालेर मार्ने क्रम बढेको हो ।

जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार यसरी विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्यलाई मात्र नभएर माटोको उर्वरा शक्तिसमेत नास भएको छ । धेरै विषादी प्रयोग गरेर पूर्वी चितवनको राप्ती नगरपालिकाका एक किसानको माटो बिग्रेर बाली नै हुन छाडेको छ । सकेसम्म जैविक विषादीको प्रयोग गर्न, रासायनिक विषादीको प्रयोग नगर्न अनुरोध गरेको उहाँले जानकारी दिनुभयो । “पछिल्लो समय झार मार्ने भन्दै विषादीको प्रयोग वढेको पाएका छौँ,” उहाँले भन्नुभयो, “मेहनत कम गर्ने बानी भएकाले झार मार्न विष हालेका छन् । यस्तो कार्यले घरबारीमा मात्र होइन मानव समुदायमा नै असर परेको छ ।”धेरै विषादी प्रयोग गरेर पूर्वी चितवनको राप्ती नगरपालिकाका एक किसानको माटो बिग्रेर बाली नै हुन छाडेको छ ।

कार्यालयले सुरक्षित तरिकाले कम असर गर्ने खालका अनुमति पाएका विषादी मात्र प्रयोग गर्न किसानलाई अनुरोध गरेको जानकारी दिनुभयो । विद्यालयस्तरमा विद्यार्थी माझ विषादीको प्रयोगबाट हुने असरबारे जानकारीमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार अन्नबालीभन्दा तरकारी बालीमा विषादीको प्रयोग धेरै भएको पाइएको छ । विषादी प्रयोगको मात्राको विषयमा नारायणगढको सब्जीमन्डीमा परीक्षणसमेत गर्दै आएको जानकारी दिनुभयो । मकवानपुर र चितवन दुई जिल्ला हेर्दै आएको कार्यालयले दुवै जिल्लामा विषादीको प्रयोगको अवस्था उस्तै रहेको कार्यालय प्रमुख कँडेलले जानकारी दिनुभयो । मकवानपुरको उत्तर क्षेत्र, पालुङ, टिस्टुङ, दामनलगायतको क्षेत्रमा तरकारी तथा फलफूल खेती हुँदै आएको छ । त्यस क्षेत्र र हाँडीखोला लगायतको क्षेत्रमा विषादीको प्रयोग भएको जानकारी दिनुभयो । तीबाहेकका स्थानमा हुने अन्य बाली तथा तरकारी खेतीमा विषादीको प्रयोग बढेको बताउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा चितवनका कीटशास्त्रविज्ञ सुन्दर तिवारीले विषादीको प्रयोग संस्कृति नै बनेको बताउनुभयो । तरकारी तथा अन्य बालीमा विषादी प्रयोग नगर्नेलाई समेत विषादी नहाली फल्दैन भन्दै हाल्न प्रेरित हुने गरेको पाइएको जानकारी दिनुभयो ।

केही वर्षयता बाली नभएको स्थानमा समेत विषादी प्रयोग डरलाग्दो अवस्थामा हुने गरेको बताउनुभयो । घरअगाडिको हरियाली देख्न नसकेर विष हालेर मार्ने गर्दा त्यसको प्रभाव मानव स्वास्थ्यमा पर्ने गरेको छ । उहाँका अनुसार नेपालमा दुई वर्षअगाडि वार्षिक पाँच हजार टन विषादी नेपाल भित्रिएको तथ्याङ्क रहेकोमा गत वर्ष वृद्धि भएर एक वर्षमा छ हजार टन पुगेको छ । यो तथ्याङ्कले पनि नेपालमा बढ्दो मात्रामा विषादीको प्रयोग भइरहेको देखाउँछ उहाँले भन्नुभयो ।जिल्ला एकीकृत शत्रुजीव व्यवस्थापन कृषक सङ्घ (आइपिएम) भरतपुरका अध्यक्ष धर्म कँडेल विषादी प्रयोग नगरेर पनि बालीबाट उत्पादन गर्न सकिने बताउनुहुन्छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट