Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

तीजमा संस्कृति जगेर्ना गर्ने सन्देश प्रवाह गर्नुपर्छ : रेनु दाहाल

तीजमा संस्कृति जगेर्ना गर्ने सन्देश प्रवाह गर्नुपर्छ : रेनु दाहाल

भरतपुर : भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महिलाहरूको महान पर्व हरितालिका तीजलाई विकृति होइन संस्कृति जगेर्ना गर्ने सन्देश प्रवाह गरेर मनाउनुपर्ने बताएकी छन् ।तीजको पूर्व सन्ध्यामा चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्च चितवनद्वारा शनिबार भरतपुरमा आयोजना गरेको तीज विशेष सांस्कृतिक कार्यक्रम समुद्घाटन समारोहमा प्रमुख अतिथि मेयर दाहालले तीज पर्वलाई संस्कृति जगेर्ना गर्ने हिसाबले मनाउन महिला दिदीबहिनीहरुलाई आग्रह गरेकी हुन् ।

तीज पर्वलाई महंगा गहना र कपडा प्रदर्शन गर्ने माध्यम बनाउनु हुँदैन भन्दै उनले भनिन् तीज पर्वलाई भड्किलो र खर्चिलो होइन मितव्य बनाउनुपर्छ ।विगतमा सङ्घर्ष र उपलब्धिका गाँथाहरू जोडेर गीत गाउने गरेको चर्चा गर्दै मेयर दाहालले सन्देशमूलक रुपमा महिलाहरूले तीजमा प्रतियोगिताहरू आयोजना गरेर समाजमा नयाँ सन्देश प्रवाह गरेको बताइन् ।भरतपुर महानगरले युवाहरूलाई बर्सेनी सिपमूलक तालिम दिएर आत्मनिर्भर बनाउँदै आएको चर्चा गर्दै मेयर दाहालले गतवर्ष मात्रै २ हजार युवालाई विभिन्न किसिमको तालिम दिएको बताइन् ।महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन सीपमूलक तालिमलाई निरन्तरता दिने उनले जानकारी दिइन् ।

महिलाको हिजो र आजको अवस्था फेरिएको बताउँदै मेयर दाहालले राज्यको तल्लो तहदेखि माथिल्लो तहसम्म महिलाले नेतृत्व गरेको बताइन । प्रधान न्यायाधीशदेखि राष्ट्रपतिसम्म ,पालिका प्रमुखदेखि मन्त्रीसम्म महिलाले नेतृत्व गरेको चर्चा गर्दै मेयरदालले थपिन्। यो सबै संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हो। महिलाले नेतृत्व गरेको हरेक क्षेत्र सफल भएको उनको भनाइ थियो ।

तेस्रो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला समेत रहेको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी ,कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति शारदा थपलिया, इच्छा कामना गाउँपालिकाका कार्यवाहक अध्यक्ष माया सिलवाल , चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे, आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख पुण्य विक्रम खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम महिला उद्यमी मञ्चका अध्यक्ष सिर्जना सोतीको सभापति भएको थियो ।मेलामा महिलाले उत्पादन गरेका घरेलु उत्पादन, सहकारीका खाद्य उत्पादन ,सहकारी तथा संघ संस्थाका स्टलहरू राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट