चितवन : चितवन राष्ट्रिय निकुञ्जमा अर्को जंगली भाले हात्ती देखिएको छ । निकुञ्जको पूर्वी क्षेत्र चुरे नजिकै रहेको हर्दाखोला क्षेत्रमा लामो दारा भएको जंगली भाले हात्ती देखिएको निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले जनाएको छ । सेनाले त्यस हात्तीको नाम ‘सुँगुर दारे’ राखिदिएको छ । अन्दाजी २२ वर्ष उमेरको हात्ती मस्त युवा छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार यो हात्ती पूर्व झापाबाट पर्सा करिडोर हुँदै चितवन आइपुगेको हो । २०७७ देखि २०८० सालसम्म हेर्दा यो रूटबाट ५ वटा भाले हात्ती सौराहातिर आएका र तीमध्ये यमगज रौतहटमा, मकुना र दारे चितवनसम्म आएको डा. रामले बताए ।
मकुना हात्तीलाई निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाले २३ माघ २०८१ मा गोली हानेर मारेको थियो । मकुना हात्तीलाई सौराहा क्षेत्रबाट निकुञ्जको कोर क्षेत्रमा लैजाने क्रममा सुरक्षाकर्मी तथा निकुञ्जका कर्मचारीमाथि आक्रमण गरेपछि ज्यान जोगाउन गोली हानेर मारिएको निकुञ्जले बताउँदै आएको छ ।
५ वटामध्ये दुईवटा हात्ती फर्किएर बाहुनडाँगी कटेको देखिएको डा. रामले बताए । मकुना धेरैजसो निकुञ्जको सौराहा सेक्टरमा बस्दै आएको थियो । कहिलेकाहीँ बजारतिरसमेत निकस्न थालेपछि जोखिम बढेको भन्दै सेनाले निकुञ्जभित्र लैजाने प्रयास गर्दा सो घटना भएको थियो ।
सौराहामा रहेको हात्ती प्रजनन केन्द्रमा रोनाल्डो नामको भाले हात्तीले पोथी कब्जा गरेपछि अरू तीनवटा जंगली भाले हात्ती गोविन्दे, ध्रुवे र मकुना बाहिर थिए । दारे हात्तीको भने चर्चा नै भएको थिएन ।
रोनाल्डोले कहिलेकाहीँ प्रजनन केन्द्र छाड्दा मात्रै गोविन्दे र ध्रुवे प्रजनन केन्द्रमा आउँथे । मकुना भने यी तीनवटालाई नै जित्न नसकेपछि सौराहाका निजीस्तरमा पालिएका पोथी हात्ती खोज्दै बस्तीतिर आउन थालेको थियो ।
पछिल्लो समयमा देखिएको दारे हात्तीका बारेमा निकुञ्जका कुनै जानकारी नभएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए । ‘हामीलाई अर्को भाले हात्ती देखिएको भन्ने सूचना छैन,’ सूचना अधिकारी थापाले भने, ‘सेनाले निकुञ्जमा गस्ती गर्दा देखेको हुनसक्छ ।’
निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका गणपति शिवराम बस्न्यातले चपरचुली क्षेत्रबाट ६ किलोमिटर दक्षिण क्षेत्रमा अजंगको सुँगुर दारे हात्ती पटकपटक देखिएको बताए ।
‘त्यो हात्ती निकुञ्जको कोर क्षेत्रमा नै छ । सौराहा वा अन्य पोथी हात्ती राखिएको ठाउँतिर निस्किएको देखिएको छैन । हामी पट्रोलिङमा जाँदा कयौंपटक भेटेका छौं । ऊबाट बचेर हिँडेका छौं,’ गणपति बस्न्यात भने, ‘सुँगुर दारेले पनि प्रजनन केन्द्रतिर आउने उपर्युक्त मौका हेरिरहेको होला ।’
हात्तीमा नै पीएचडी गरेका विज्ञ डा. अशोककुमार रामले सौराहाको हात्ती प्रजनन केन्द्रमा रोनाल्डो, ध्रुवे वा गोविन्देलाई प्रतिस्थापन गर्ने हात्तीका रूपमा सुँगुर दारे रहन सक्ने बताए ।
‘उमेर पनि कम भएको र ज्यान पनि डरलाग्दो भएकोले यसले पछि मार्केट खान सक्छ,’ डा. रामले भने, ‘यस्ता जंगली भाले हात्ती निकुञ्जमा रहिरहनुपर्छ ।’ जंगलभित्र भाले हात्तीहरूका बीच गजबको संर्घष हुने डा. रामले बताए ।
मुख्य कुरा सौराहाको हात्ती प्रजनन केन्द्र कसले कब्जा गर्ने भन्ने विषयमा जंगली हात्तीहरूका बीचमा प्रतिस्पर्धा हुने गरेको छ । सौराहाको हात्ती प्रजनन केन्द्रमा यिनै जंगली भाले हात्तीले प्रजनन गर्ने गरेका छन् ।
रोनाल्डो, ध्रुवे र गोविन्दे हात्तीले सौराहाको प्रजनन केन्द्र धानेका छन् । यिनकै मात्र २० भन्दा बढी सन्तान प्रजनन् केन्द्रमा हुँर्किरहेका छन् । निकुञ्जका विभिन्न पोस्टमा पनि पोथी हात्ती भएको ठाउँमा जंगली भाले हात्ती आएर प्रजनन् गर्ने गर्छन् ।
निकुञ्जभित्र रहेका भाले हात्तीबाट प्रजनन गराइँदैन । प्रजनन गराउँदा भाले हात्ती पल्किएर काममा लगाउन नसकिने र माहुतेसँग रिसइबी साँधेर मारिदिने हुँदा निकुञ्जमा भएका भाले हात्तीबाट प्रजनन् गराइँदैन । जंगली भाले हात्तीहरू संरक्षण गरे मात्रै प्रजनन केन्द्र पनि दीर्घकालसम्म चलाउन सकिने डा. रामको भनाइ छ ।
पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म मानवीय क्रियाकलाप तथा द्वन्द्वका कारण जंगली भाले हात्तीहरू मारिने क्रम हरेक वर्ष बढ्दै गएकोमा विज्ञहरू गम्भीर देखिएका छन् । विज्ञ संरक्षणकर्मी डा. बाबुराम लामिछानेले गतवर्ष मात्रै १२ वटा हात्ती विभिन्न कारणले मारिएको बताए । यसरी मारिनेमा अधिकांश जंगली भाले हात्ती हुन् ।
चितवन राष्ट्रिय निकुञ्जमा अहिले छावासहित ५८ वटा हात्ती छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषमा ५ वटा र सौराहामा निजीस्तरमा पालिएका ४५ वटा हात्ती छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij