रत्ननगर, साउन २९ : पूर्वी चितवनको रत्ननगर-१ मा रहेको जीएसटी कलेजले ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ विषयक विशेष कार्यक्रम आयोजना गरेको छ। स्थानीय शिक्षालाई विश्वव्यापी सफलतामा रूपान्तरण गर्ने उद्देश्यसहित सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले होटल स्टार निपनीमा प्यानल छलफल कार्यक्रम गरेको हो।
कार्यक्रममा पूर्वी चितवनबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कलेजले सहभागी विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गरेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा कलेजका प्राचार्य राजकुमार दाहालले विद्यार्थीहरूमाझ प्रेरणादायी भनाई राख्दै स्थानीय अवसरहरूको उपयोग गरी विश्वस्तरमा प्रतिस्पर्धी बन्न प्रोत्साहन गरे। कार्यक्रमको प्रमुख आतिथ्यता फोब्स कलेजका प्राचार्य तथा जीएसटी कलेजका अध्यक्ष हरिशरण पाठकले गरेका थिए।
प्यानल छलफलमा न्यू क्यापिटल कलेजका प्रिन्सिपल भूपेन्द्र धिताल, नेपाल आदर्श कलेजका अध्यक्ष आइपी लामिछाने र प्याब्सन चितवनका अध्यक्ष मदन पुरी प्रमुख प्यानलिस्टका रूपमा सहभागी थिए। इन्जिनियर सागर कार्कीले सहजीकरण गरेको छलफलमा शैक्षिक क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरू र भविष्यका सम्भावनाहरूबारे गहन चर्चा भयो। प्यानलिस्टहरूले गुणस्तरीय शिक्षा, नवप्रवर्तन र सहकार्यमार्फत ‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्न स्थानीय स्तरमा अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गर्न सांगीतिक प्रस्तुति पनि आयोजना गरिएको थियो। कलेजका प्रबन्ध निर्देशक ई. दिवस मैनालीले यो कार्यक्रमले विद्यार्थीहरूमा नयाँ जोश र प्रेरणा प्रदान गरेको बताए।
जीएसटी कलेज पूर्वी चितवनमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था हो। बीबीए कार्यक्रम विभागका प्रमुख सौगात गुरूङका अनुसार, कलेजले दुई सेक्सनमा ६६ सिट कोटाको बीबीए कार्यक्रम सञ्चालनमा ल्याएको छ, जसले व्यवस्थापन क्षेत्रमा क्यारियर बनाउन चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij