चितवन, २८ साउन : भरतपुर महानगरपालिका–११ गणेशस्थान निवासी श्री धनबहादुर गुरुङ ‘छुनमुने’ र श्रीमती सोममाया गुरुङले आफ्ना स्वर्गीय पिता सिउरत गुरुङ तथा स्वर्गीय माता लालमाया गुरुङको स्मृतिमा करिब रु १० लाख लागतमा भगवान श्रीकृष्णको मन्दिर निर्माण गरी आज विशेष धार्मिक समारोहका बीच गणेशधाम संरक्षण तथा सम्बर्द्धन समितिलाई विधिपूर्वक हस्तान्तरण गर्नुभएको छ।
कार्यक्रममा समितिका अध्यक्ष दिनेश कुमार चुकेले वैदिक विधिअनुसार पूजापाठ गर्दै मन्दिरको उद्घाटन, भगवान श्रीकृष्णको प्रतिमा स्थापना र अनावरण गर्नुभएको थियो। यस अवसरमा अध्यक्ष चुकेले भन्नुभयो, “श्रीकृष्ण मन्दिरको निर्माण र उद्घाटनसँगै गणेशधाममा रहेका सम्पूर्ण मन्दिरहरू एकैस्थानमा रहेका छन्। यसले यहाँ आउने भक्तजन र पर्यटकहरूका लागि धार्मिक आस्था र सांस्कृतिक अनुभव दुवै प्रदान गर्नेछ। हामी धर्म र पर्यटनको संयोजनमार्फत यस पवित्र स्थललाई अझ व्यवस्थित र आकर्षक बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं।”

यसअघि गणेशधाममा सिद्धि गणेशको मन्दीर , कमलेश्वर महादेव मन्दिर, सन्तोषी माताको मन्दिर, हनुमानको पूर्णकदको मूर्ति, पशुपति मन्दिर, मनकामना मन्दिर, चण्डेश्वरी मन्दिर, विश्वकर्मा बाबा मन्दिर, सरस्वती मन्दिर, पुराना बर–पिपलका वृक्ष, सत्संग भवन, रोटरी क्लब भवन, भीमसेन गुठी भवन, ऐतिहासिक इनार, सुगन्धित फूलबारी र एग्रेसिभ गणेशको मूर्ति रहेका थिए। तर श्रीकृष्ण मन्दिर नहुँदा धार्मिक दृष्टिले अपूर्ण रहेको यो पवित्र स्थल अब मन्दिर निर्माणसँगै सम्पूर्ण मन्दिरहरू एकैस्थानमा रहेको धार्मिक धरोहर बनेको छ।

मन्दिर निर्माता धनबहादुर गुरुङले आफ्ना बुवाआमाको स्मृतिमा यो पवित्र कार्य सम्पन्न गर्न पाएकोमा अपार खुशी व्यक्त गर्दै भन्नुभयो, “यो मन्दिरले मेरा बुबाआमाको नाम सदैव गणेशधामको इतिहासमा जीवित राख्नेछ। यहाँ आउने भक्तजनहरूका लागि आस्था र प्रेरणाको स्रोत बन्ने विश्वास लिएको छु।” उहाँले यस कार्यमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति र संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
गणेशधाम समितिले सम्पूर्ण क्षेत्रको दीर्घकालीन गुरुयोजना तयार पारेको बताउँदै धार्मिक आस्थासँगै आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी विभिन्न पूर्वाधार विकासका काम अगाडि बढाइरहेको जनाएको छ। समितिका अनुसार गणेशधामलाई निकट भविष्यमा बहुआयामिक धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij