Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवन ट्राफिकको रिपोर्ट: नियम पालना बढ्यो, तर दुर्घटनामा सुधार छैन

चितवन ट्राफिकको रिपोर्ट: नियम पालना बढ्यो, तर दुर्घटनामा सुधार छैन

चितवन: चितवनमा सवारी नियम उल्लंघन गर्ने चालकहरूमाथिको ट्राफिक कारबाहीको संख्या पछिल्ला वर्षमा उल्लेखनीय रूपमा घटेको छ। ट्राफिक प्रहरीका अनुसार विभिन्न सचेतनामूलक कार्यक्रम प्रभावकारी भएपछि कारबाही घटेको हो। तर, सवारी दुर्घटनाको संख्या भने कम हुन सकेको छैन।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजश्व संकलनमा पनि १ करोड रुपैयाँभन्दा बढीको गिरावट आएको छ।

कार्यालयका प्रमुख गायत्रीराज शर्माका अनुसार २०८१/८२ मा २३ हजार ४१२ जना चालक कारबाहीमा परेका थिए, जसबाट २ करोड १ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको थियो। अघिल्लो वर्ष २०८०/८१ मा भने ४१ हजार ९९८ जनालाई कारबाही गरिँदा ३ करोड ७ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको थियो।

उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा ट्राफिक कारबाहीबाट ३ करोड ४५ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन गरिएको थियो।प्रमुख शर्माले सचेतनामा जोड दिँदै भने, “राजश्व संकलन होइन, सवारी नियमको पालनामा हामी केन्द्रित छौं।”ट्राफिक प्रमुख शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा २६० प्रतिशतले सचेतनामूलक कार्यक्रम वृद्धि गरिएको छ। त्यसको असरस्वरूप सवारी नियम पालनाको दर करिब ४५ प्रतिशतले बढेको बताइएको छ।

सरकारले निर्धारण गरेको जरिवाना प्रणाली अनुसार कारबाही गर्दा पहिलो गल्तीमा ५ सय, दोस्रोमा १ हजार, तेस्रोमा १ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको छ। यसले अघिल्ला वर्षहरूमा ट्राफिकले आफूखुसी असुल गर्ने प्रवृत्तिमा समेत अंकुश लगाएको प्रहरीको भनाइ छ।

तर, ई-चलानी प्रणालीका कारण धेरैले तुरुन्तै जरिवाना नतिरेका कारण ५० लाख रुपैयाँभन्दा बढी राजश्व अझै संकलन हुन बाँकी रहेको बताइएको छ।सवारी नियम उल्लंघन घटे पनि दुर्घटनाको संख्या भने बढेको ट्राफिक कार्यालयको तथ्यांकले देखाउँछ।गत आर्थिक वर्ष २०८१/८२ मा १ हजार ५० सवारी दुर्घटना भएका थिए, जसमा १२० जनाको मृत्यु, १७२ गम्भीर घाइते, र १,७०५ जना सामान्य घाइते भएका छन्।

यसको तुलनामा २०८०/८१ मा ४४५ दुर्घटना हुँदा ११५ जनाको ज्यान गएको, १५० गम्भीर घाइते, र ६८२ जना सामान्य घाइते थिए।हाल दुर्घटनाबाट मृत्यु हुने दर ११.४२ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष २५.८५ प्रतिशत थियो।मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरूको संख्या पछिल्ला तीन वर्षदेखि झण्डै स्थिर देखिएको छ।

२०८१/८२ मा १,२०० भन्दा बढी चालक मापसे कारबाहीमा परेका थिए। उनीहरूमाथिबाट ६ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरिएको थियो। अघिल्लो वर्ष यसै अवधिमा १,२१९ जना कारबाहीमा परेका थिए र १२ लाख रुपैयाँभन्दा बढी राजश्व उठाइएको थियो।

प्रहरी विश्लेषण अनुसार चितवनमा सबैभन्दा बढी दुर्घटना साँझ ६ बजेदेखि राति १२ बजेको बीचमा हुने गरेको छ।गत वर्ष ४१४ वटा दुर्घटना यही समयमा भएका थिए। यस अवधिमा यात्रु तथा चालकहरू गन्तव्यमा पुग्ने हतारमा हुने, साथसाथै मापसेको प्रभावले पनि दुर्घटनाको जोखिम बढाएको ट्राफिक प्रहरी प्रमुख शर्माको भनाइ छ।प्रहरीले दिनलाई चार भागमा विभाजन गरी विश्लेषण गर्दा साँझदेखि राति र दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सबैभन्दा जोखिमपूर्ण समय देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट