चितवन : सेन्चुरी एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रा.लि.ले सौराहाबाट काठमाडौँका लागि नयाँ पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका सञ्चालक बेलबहादुर थापाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नारायणी यातायातका सञ्चालक तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी र वडा नं ६ का वडाध्यक्ष किरण महतोले संयुक्त रूपमा बस सेवाको उद्घाटन गरे।
कम्पनीका म्यानेजर प्रविन पुनले बसमा उपलब्ध सेवाबारे जानकारी दिँदै यात्रुहरूको सुविधालाई प्राथमिकता दिइएको बताए। उनका अनुसार, बसहरू पूर्ण एसी (Full AC) सुविधा सहितका छन्, र करिब २ करोड रुपैयाँको लगानीमा सेवा सञ्चालनमा ल्याइएको हो।
पूर्व नारायणी यातायात कम्पनी प्रा.लि.का चितवन इन्चार्ज सुरेश कुमार विष्टका अनुसार सेन्चुरी एडभेन्चर ट्राभल्सले पुरानो नारायणी यातायात कम्पनीमा आबद्ध रही नयाँ ढंगमा बस सेवा सुरु गरेको हो। उनका अनुसार, पुरानो अनुभव र संरचनालाई नयाँ व्यवस्थापनसहित अघि बढाइएको छ, जसले यात्रुहरूलाई अझ सहज र भरपर्दो सेवा प्रदान गर्नेछ।
यस सेवामा सौराहा–काठमाडौँ एकतर्फी यात्रा भाडा ९०० रुपैयाँ निर्धारण गरिएको छ। यस नयाँ सेवाले सौराहाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।सौराहाबाट काठमाडौँ र पोखरा गन्तव्यका लागि हाल दैनिक ११ वटा पर्यटकीय बसहरू सञ्चालनमा छन्।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij