चितवन : योङ्ग कम्यूनिष्ट लीग नेपाल (वाइसिएल)ले माडी–२ निवासी किसान हरिभक्त श्रेष्ठको तत्काल रिहाइ र राष्ट्रिय निकुञ्जसम्बन्धी विभेदकारी कानुन संशोधनको माग गरेको छ।
वाइसिएल चितवनका संयोजक दुर्लभ शाही (रुपक) द्वारा जारी वक्तव्यमा भनिएको छ, चितवन राष्ट्रिय निकुञ्जभन्दा करिब २ किलोमिटर टाढा रहेको पूर्ण रूपमा निजी सम्पत्तिमा लगाइएको तारबारमा परी गैँडा मरेको घटनामा श्रेष्ठलाई नियन्त्रणमा लिएर मुद्दा दायर गरिएकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको हो। वक्तव्यमा राष्ट्रिय निकुञ्ज ऐन २०२९, त्यसको संशोधन, र मध्यवर्ती नियमावलीको पुनःसंशोधनमार्फत माडीबासीमाथि भइरहेको विभेद अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ। यसका साथै, माडीको बसन्तपुर र बरुवामा निर्दोष किसानको रिहाइ माग गर्दै स्वतन्त्र युवाहरूले हिजो आयोजना गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको घटनाप्रति पनि आपत्ति जनाइएको छ।
सो प्रदर्शनमा संगठनका केन्द्रीय उपाध्यक्ष सन्तोष पनेरु लगायत युवाहरूको उपस्थितिमा प्रहरीले दमन गरेको प्रति गहिरो खेद व्यक्त गरिएको छ। संगठनले माडीका युवाहरूका सम्पूर्ण आन्दोलनमा ऐक्यवद्धता जनाउँदै, माडीबासीप्रति भइरहेको अन्याय, अत्याचार र विभेद अन्त्य गर्न तथा निर्दोष किसान हरिभक्त श्रेष्ठलाई तत्काल रिहाइ गर्न जोडदार माग गरेको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij