Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

विश्व आदिवासी दिवस : आन्दोलन गर्ने प्रमुख माध्यम

विश्व आदिवासी दिवस : आन्दोलन गर्ने प्रमुख माध्यम

चितवन । आज नेपालमा रहेका आदिवासी जनजाति समुदायले ३१औँ विश्व आदिवासी जनजाति दिवस विभिन्न खालको कार्यक्रम आयोजना गरेर मनाउँदै छ। जल, जङ्गल र जमिनसँग निकट भएर जीविकोपार्जन गर्दै आएका आदिवासी जनजातिहरुले राज्यपक्षसँग आफ्ना हकअधिकार प्राप्तीका लागि सुरुका दिनहरुमा यस्तै दिवसहरुको प्रयोग गरेको पाइन्छ।

फलस्वरुप विश्व आदिवासी दिवसको ३१औँ शृङ्खलासम्म आइपुग्दा पनि आन्दोलनको बाटो भने रोकिएको छैन। तसर्थ यस वर्ष पनि ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर! संयुक्त राष्ट्र संघका एजेन्सी संस्था (युएनड्रिप) र आइएलओ १६९ सम्बन्धी सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयन गर’लगायतका नारा घन्काउँदै विश्व आदिवासी मनाउँदै छ।

नेपालको संविधान–२०७२ ले दिएको अधिकारसमेत प्राप्त गर्न नसकेपछि त्यसको दशक बितिसक्दासमेत आन्दोलन नै गरिरहन बाध्य भएको आदिवासी जनजाति समुदायको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले जनाएको छ। चितवनमा पनि नेफिनले सङ्घीय समितिको परिपत्रअनुसार कार्यक्रम गर्दैछ।

नारायणी कला मन्दिरमा हुने कार्यक्रमलाई शान्तिपूर्ण आन्दोलनको रूपमा सदुपयोग गर्न खोजिएका नेफिन चितवनका अध्यक्ष महन्द्र दुराले जानकारी दिए। राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्दाहरुलाई पनि राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमै बहस पैरवी गर्ने महत्त्वपूर्ण अवसरका रुपमा विश्व आदिवासी दिवसलाई हेर्न थालिएको उनले बताए।

आदिवासी जनजातिले राज्य पक्षसँग आफ्ना हक अधिकार माग्दै गर्दा आदिवासी जनजाति समुदायको संस्कार, संस्कृति संरक्षण गर्ने विषयमा समेत गम्भीर भएर सोच्दै आएको उनले बताए। तसर्थ आदिवासी जनजाति समुदायका हरेक कार्यक्रममा जनजाति समुदायसँग जोडिएको संस्कृति प्रस्तुत हुँदै आएको उनको भनाइ छ।

‘आदिवासी जनजातिका भाषा, साहित्य त छँदै छन्। पहिचानको मुद्दालाई पनि बलियो ढङ्गले उठाउने छौँ’, उनले भने, ‘सङ्घीयता लागू भइसके पनि हाम्रा मागहरु जबसम्म पूरा हुँदैनन् त्यतिञ्जेलसम्म आन्दोलन जारी रहन्छ ।’ नेपालमा रहेका ५९ आदिवासी जनजाति समुदायमध्ये नेपाल आदिवासी जनजाति महासंघको सङ्घीय समितिमा ५६ जाति आबद्ध छन्।

२०५५ सालमा स्थापना भएको चितवन जिल्लामा भने हालसम्म १६ जाति/जनजाति महासंघको सदस्यका रुपमा आबद्ध छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट