भरतपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेसँगै नारायणगढस्थित लिटिल फ्लावर स्कुलले उत्कृष्ट नतिजा सार्वजनिक गरेको छ। प्लस टु तह सुरु गरेको चौथो ब्याचमै स्कुलका विद्यार्थीहरूले उच्च शैक्षिक सफलता हासिल गरेका छन्।
विद्यालयले दिएको जानकारीअनुसार, कुल ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २८ जना विद्यार्थीले ३.६१ देखि ४.०० GPA ल्याउन सफल भएका छन्, जुन श्रेणी बोर्डद्वारा दिइने उच्चतम ग्रेड स्कोरमा पर्छ। यस्तै, ३० जना विद्यार्थीले ३.२१ देखि ३.६० GPA ल्याएका छन्, जुन राम्रो अकादमिक प्रदर्शन मानिन्छ।
त्यसैगरी, १२ जना विद्यार्थीले २.८१ देखि ३.२० GPA ल्याएका छन् भने एक जना विद्यार्थीको GPA २.४१ देखि २.८० को बीचमा रहेको विद्यालयले जनाएको छ।विद्यालयका शैक्षिक समन्वयकका अनुसार, उच्च GPA ल्याउने विद्यार्थीहरूको संख्या वर्षेनी वृद्धि हुँदै गएको छ, जुन विद्यालयको गुणस्तरीय शिक्षण पद्धति र विद्यार्थीको निरन्तर मेहनतको परिणाम हो।
राष्ट्रिय परीक्षा बोर्डद्धारा प्रकाशित नतिजाअनुसार देशभरबाट नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकामा दुई लाख ४२ हजार ७६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यसमा ३८ दशमलव ८३ विद्यार्थीले ‘ननग्रेड’ प्राप्त गरेका बोर्डले जनाएको छ ।
यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८४० ले ग्रेड प्राप्त गरेका छन् । समग्रमा कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये दुई लाख ८४ हजार ३०५ जनाले ग्रेड प्राप्त गरेका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यस्तै, नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ जनाको परीक्षा रद्द गरिएको छ । ननग्रेड आएका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij