रत्ननगर :पूर्वी चितवनको शैक्षिक क्षेत्रमा नयाँ कोसेढुङ्गा थप्दै जिएसटी कलेजले शैक्षिक सत्र २०८१/८२ का लागि चारवर्षीय बिबिए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन) कार्यक्रमको भर्ना खुला गरेको छ। क्याम्पस प्रमुख राजकुमार दाहालको नेतृत्वमा स्थापित यो कलेज पूर्वी चितवनमा बिबिए कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था बनेको छ। शिक्षामा उत्कृष्टता, व्यावसायिक दक्षता र रोजगारीका अवसरहरूलाई जोड दिँदै जिएसटीले विद्यार्थीहरूलाई विश्वस्तरीय व्यवस्थापन शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ।
सुदुरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिएसटी कलेजले व्यवसाय अध्ययनमा रुचि राख्ने विद्यार्थीका लागि ६६ सिट कोटासहित बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको छ। उद्घाटन वर्षलाई विशेष बनाउन कलेजले १ करोड रुपैयाँ बराबरको छात्रवृत्ति योजना घोषणा गरेको छ, जसले आर्थिक रूपमा कमजोर तर जेहेनदार विद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। साथै, पहिलो २० जना भर्ना हुने विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ, जसले सीमित स्रोत भएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नेछ। इच्छुक विद्यार्थीले प्रवेश परीक्षा र छात्रवृत्तिसम्बन्धी थप जानकारीका लागि रत्ननगर-१, निपनीस्थित जिएसटी कलेजमा सम्पर्क गर्न सक्नेछन्।
क्याम्पस प्रमुख दाहालले जिएसटीले सतप्रतिशत रोजगारीको ग्यारेन्टीसहित विद्यार्थीहरूलाई व्यावसायिक दुनियाँसँग जोड्ने प्रतिबद्धता व्यक्त गरे। “हामी विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित राख्दैनौँ, सहपाठ्यक्रम गतिविधि र उद्योगहरूसँगको सहकार्यमार्फत उनीहरूलाई प्रतिष्ठित व्यापारिक घराना र बहुराष्ट्रिय कम्पनीहरूसँग जोड्छौँ,” उनले भने। यो पहलले सैद्धान्तिक र व्यावहारिक शिक्षाको संयोजनमार्फत विद्यार्थीहरूलाई बजारको मागअनुरूप प्रतिस्पर्धी र सक्षम बनाउने लक्ष्य राखेको छ।
जिएसटी कलेजको स्थापनाले पूर्वी चितवनका युवाहरूलाई स्थानीय स्तरमै विश्वस्तरीय व्यवस्थापन शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गरेको छ। क्याम्पस प्रमुख दाहालले यो पहलले क्षेत्रीय शैक्षिक असमानता हटाउन र युवाहरूको सपना साकार पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “हाम्रो लक्ष्य विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु हो,” उनले थपे।
गुणस्तरीय शिक्षा, अनुभवी प्राध्यापक र आधुनिक शिक्षण विधिमार्फत जिएसटी कलेजले विद्यार्थीहरूलाई सशक्त बनाउने योजना बनाएको छ। भर्ना प्रक्रिया र अन्य विवरणका लागि कलेजले चाँडै प्रवेश परीक्षाको मिति सार्वजनिक गर्नेछ। यो कलेजको स्थापनाले पूर्वी चितवनको रत्ननगरमा शैक्षिक परिदृश्यमा नयाँ उत्साह थपेको छ र व्यवसाय अध्ययनमा रुचि राख्ने युवाहरूलाई भरतपुर जानुपर्ने बाध्यता हटाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij