Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

अमेरिकाबाटै श्रेष्ठले भने–पूर्वराष्ट्रपतिलाई भेटकै हो, आत्तिनु पर्दैन

अमेरिकाबाटै श्रेष्ठले भने–पूर्वराष्ट्रपतिलाई भेटकै हो, आत्तिनु पर्दैन

काठमाडौं : अमेरिकामा रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको बताएका छन्।

अमेरिका भ्रमणमा रहेका उपाध्यक्ष श्रेष्ठले शनिबार टेक्ससमा पत्रकारसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिक मान्छे भएर भेटेको बताएका हुन् ।

पूर्वराष्ट्रपतिसँग भएको भेटको बारेमा पार्टीभित्र खैलाबैला भएकोप्रति लक्षित गर्दै उनले भेटेको विषयलाई लिएर पार्टी नेतृत्व तरंगित हुन नपर्ने धारणा राखे । उनले राजनीतिक मान्छेको राजनीतिक भेटघाट स्वभाविक भएको पनि बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य पदाधिकारीले पनि पार्टीमा निर्णय गराएर भेट गर्ने नगरेको उल्लेख गरे।

उनले भने–‘राजनीतिक मान्छेले राजनीतिक भेटघाट भइरहन्छ। सबै पार्टीले निर्णय गरेर भेटघाट हुँदैन। अब अध्यक्षज्यूले क–कसलाई भेट्नुहुन्छ, पार्टीमा निर्णय गराएर कहिल्यै भेट्नुभएको छैन, उहाँलाई मैले फलानोलाई भेट्नुभएछ भनेर भन्न मिल्छ ? अरु उपाध्यक्ष, महासचिवले पनि भेट्नु भएको होला। मेरो व्यक्तिगत भेटघाट हो त्यो। पार्टीले निर्णय गरेर होइन।’

भेटका क्रममा उनले प्रधानमन्त्रीभन्दा माथिल्लो पदमा गएका राष्ट्रपति, उपराष्ट्रपतिहरु सक्रिय राजनीतिमा आउन नहुने धारणा राखेको बताए । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नन्दबहादुर पुनसँगको भेटमा पनि र पार्टी बैठकमा पनि यो विषय उठाएको जानकारी गराए। भण्डारीलाई भेटेर वाम एकताको प्रस्ताव गरिएको हो भन्ने प्रश्नमा उनले अहिलेलाई वामपन्थी एकताको तत्काल कुनै सम्भावना नदेखेको बताए ।

उनले भने–‘मैले विद्यादेवी भण्डारीसँगको भेटमा पनि भनेको छु। पार्टी बैठकमा पनि भनेको थिएँ। विशेष त सम्मानीय व्यक्तिका बारेमा समाजमा पहिले नै एउटा धारणा तय भएपछि उहाँहरु सक्रिय राजनीतिमा फर्कनु हुँदैन। सामान्यतया यो उपयुक्त हुँदैन।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट