Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध आयोग जाँदै नवराज सुवेदी

राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध आयोग जाँदै नवराज सुवेदी

काठमाडौँ : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट नवराज सुवेदीलाई हटाएपछि सो पार्टीमा असन्तुष्टि बढेको छ । असार २५ गतेको उक्त निर्णयविरुद्ध सुवेदीले आइतबार निर्वाचन आयोगमा उजुरी दिँदैछन् ।

सुवेदी हाल हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक छन् । उनकै नेतृत्वमा राजावादी समूहले आन्दोलन गर्दै आए पनि लिङ्देनले एकाएक सुवेदीलाई हटाएको भन्दै असन्तुष्टि बढेको हो ।

लिङ्देनको यस कार्यले राजावादी आन्दोलनमा लिङ्देनको इमानदारितामाथि नै प्रश्न उठेको राप्रपा इतर समूहको भनाइ छ । राप्रपाको इतर समूहको शनिबार भएको भेलाले अध्यक्षले विधान विपरीत सुवेदीलाई हटाएको निष्कर्ष निकाल्दै आइतबार बिहान साढे ११ बजे निर्वाचन आयोगमा उजुरी दिने निर्णय भएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।

लिङ्देनले सुवेदीलाई हटाएर पार्टी उपाध्यक्ष रोशन कार्कीलाई उक्त जिम्मेवारी दिएको विज्ञप्तिमार्फत जनाएका थिए । यस्तै लिङ्देनले प्रवक्ता सगुन लावतीलाई पनि हटाएका थिए । शनिबारको बैठकमा लिङ्देनले आफ्नो आलोचकलाई धमाधम पदबाट विधान विपरीत हटाएको भन्दै सहभागीले कडा आलोचना गरेका थिए । विगतमा लिङ्देनले इतर समूहका धवलशमशेर राणालाई समेत सङ्गठन विभाग प्रमुखबाट हटाएका थिए ।

महामन्त्री धवलशमशेर राणाको राजधानीस्थित अपार्टमेन्टमा भएको शनिबारको भेला करिब ४ घण्टा चलेको थियो । बिहान ९ देखि १ बजेसम्म चलेको भेलामा पार्टी निर्देशन समिति अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीसहित नेताहरू हरिबहादुर बस्नेत, विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, धवलशमशेर राणा, कुन्तीकुमारी शाही, सगुन सुन्दर लावती, प्रवीणकुमार थोकर तामाङ, प्रेम बलायर, ऋषिराज देवकोटा, सौरेन्द्रबहादुर शाह, जनकराज पाठक, रञ्जन कार्की, मिना शाही ,कर्णबहादुर शाही, किशोर कार्की, निरञ्जन थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट