Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

‘रामकुमारी झाँक्रीले ‘अब यस्ता शब्दहरू निस्किँदैनन्’ भन्नुभयो भने माफी–मिनाहा गर्ने सोचमा छौँ’

‘रामकुमारी झाँक्रीले ‘अब यस्ता शब्दहरू निस्किँदैनन्’ भन्नुभयो भने माफी–मिनाहा गर्ने सोचमा छौँ’

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको कुराले स्वयम झाँक्रीलाई नै नोक्सानी गरेको तर्क गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले भने, ‘उहाँले बोल्नुभएको कुरा जगजाहेर छ । जे आफूले बोल्नुभयो, त्यसले उहाँलाई नोक्सान गरेको छ । सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन । माधव नेपाल अहिले पनि देशको अग्रणी भूमिकामा हुनुहुन्छ । उहाँलाई भ्रष्टाचारी भनेको धेरै मान्छेले रुचाउँदैनन् । तर, उहाँले अध्यक्षविरुद्ध मरेको सिनो भनेर समेत भन्नुभयो, मानवीय हिसाबले पनि त्यस्तो शब्द प्रयोग गरिँदैन । यस सम्बन्धमा हामीले सचिवालय बैठक बस्यौँ । छलफल गर्‍यौँ । यदि उहाँ सुध्रिने हो भने लिखित रूपमा यो कुरा नदोहोर्‍याउने गरि र अब यस्ता शब्दहरू निस्किँदैनन् भन्नुभयो भने स्पष्टीकरणबाट माफी मिनाहा गर्ने सोचमा छौँ । उहाँले कुन खालको रिपोर्ट दिनुहुन्छ, त्यसमा भरपर्छ । जवाफपछि मात्रै यसको टुङ्गो लाग्छ ।’

उनले वामदेव गौतमसँग एक वर्षदेखि छलफलमा रहेको र अहिले आएर एकता गर्नेबारे सहमति भएको खुलासा गरे । उनले भने,‘उहाँसँग एक वर्षदेखि कुरा चलेको हो । आगामी साउन २ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर एकीकृत समाजवादीसँग एकता हुन्छ । वामदेवको प्रस्ताव ग्रहण गर्ने खालको आएको छ । अहिले उहाँको प्रस्ताव हेरेर पत्याएका छौँ ।’

सरकारले देश र जनता बर्सिएको पनि आरोप लगाएका छन् । उनले भने, ‘वर्तमान सरकार गठन भएको एक वर्ष पुगिसकेको छ । सरकार बन्ने कुरा गरेको कुरा गर्दा त एक वर्ष ११ दिन पुगेको छ । ७ बुँदेमा हस्ताक्षर भएपछि यो सरकार बन्ने कुरा भएको हो, तर पूर्णता पाएको एक वर्ष पुगेको छ । अहिले एक खालको निराशा आएको छ । उत्साह ल्याउनुपर्ने थियो, समृद्धिको बाटोमा लैजानुपर्ने थियो, त्यो खालको काम गरेको देखिँदैन । नियमित काम भइरहेको छ । सरकार चलेकै छ । गभर्नर तीन महिनापछि नियुक्त हुन्छ । यस्ता घटना भोगिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट