काठमाडौँ : तराई–मधेशकेन्द्रित सातदलीय संघीय लोकतान्त्रिक मोर्चाले रूपन्देही–२ मा हुने उपनिर्वाचनबारे मंगलबार निर्णय गर्ने भएको छ । आज तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृशेषचन्द्र लालको अध्यक्षतामा मोर्चाको आज (मंगलबार) शंखमुलको एक होटलमा यसबारे निर्णय गर्न बैठक बस्दै छ ।
यसअघि असार १५ गते बसेको मोर्चाको बैठकले उपनिर्वाचनमा संयुक्त उम्मेदवार उठाउने सहमति गरेको थियो । त्यसमा नगारिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई सबै दलले सघाउने निर्णय गरेको थियो । तर त्यसमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले असहमति जनाएका थिए ।
जनमत पार्टीले आफ्नो छुट्टै उम्मेदवार उठाउने निर्णय गरेको छ । ‘चुनावका लागि मोर्चा बनेको होइन,’ उनले भनेका थिए । जनमतले छुट्टै उम्मेदवार उठाउने भएपछि विवाद निम्तिएको थियो । सोही विषयमा छलफल गर्न आज बैठक बोलाइएको हो ।
यद्यपि मोर्चामा रहेका ६ वटा दलले नागरिक उन्मुक्ति पार्टीलाई समर्थन गर्ने बताइसकेका छन् । यसमा जनमतलाई पनि सहमति ल्याउने प्रयास भइरहेको छ ।
साथै बैठकमा संघीय निजामती सेवा ऐनका सम्बन्धमा पनि छलफल हुने लालले जानकारी दिए । उक्त ऐनमा भएको कुलिङ पिरियडबारे भइरहेको विवादमा मोर्चाले आफ्नो आधिकारिक धारणा बनाउने बुझिएको छ । त्यसैगरी सर्वोच्च अदालतले सदर गरेको ५२ संवैधानिक नियुक्तिबारे पनि बैठकमा मोर्चाले आफ्नो आधिकारिक धारणा ल्याउने बताइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij