काठमाडौँ : प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा गएका व्यक्तिहरू नफर्किएको आरोप लगाएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्रीसँग स्पेनमा हुने कार्यक्रममा सहभागी हुने बहानामा गएको र नफर्किएको समाचारहरू आएको बताइन् । उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर गई नफर्किएको भन्नेलगायतका समाचारहरू आइरहेका छन् । व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन । तर यो विषय अत्यन्तै गम्भीर विषय हो ।’
सांसद गौतमको भनाइको प्रतिनिधिसभा बैठकमै एमाले सांसद दामोदर पौडेल बैरागीले आपत्ति जनाए । बैरागीले सांसद गौतमले लगाएको आरोपको पुष्टि गर्न पर्छ कि पर्दैन भनेर प्रश्न गरे ।
‘एक जना माननीयले सम्माननीय प्रधानमन्त्री स्पेन भ्रमण जाँदा केही मान्छेहरूलाई भिजिट भिसामा लगेर त्यहाँ छोडेको भन्ने आशंकास्तो विषय उहाँले राख्नुभयो । यो विषय उहाँले किन राख्नुभयो । के का आधारमा राख्नुभयो । उहाँले राखेका विषय उहाँले पुष्टि गर्न पर्छ कि पर्दैन ?,’
बैरागीले यस्तै विषय जतिखेर जे मन लाग्यो, जसलाई आरोप लगाउन मन लाग्यो त्यो कुरा राख्ने र सदन बहिस्कार गरेर सांसदले हिँड्न मिल्ने हो भन्ने प्रश्न पनि गरे ।
प्रधानमन्त्री ओली असार १४ गतेदेखि २० गतेसम्म राष्ट्र सङ्घको कार्यक्रममा सहभागी हुन स्पेन गएका थिए । उनीसँग गएका केही मान्छे नफर्किएको सूचनाहरू बाहिरिएपनि आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij