काठमाडौँ :‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठन गर्ने ७ सदस्यीय संसदीय विशेष छानबिन समितिको नाम टुङ्गिएको छ ।
सभामुख देवराज घिमिरेलाई दलहरूले आफ्नो भागमा परेका सदस्यहरूको नामावली दिएका हुन् । संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन हुने समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १–१ जना सदस्य हुने सहमति दलहरूबिच भइसकेको छ ।
सभामुखको सचिवालयका अनुसार समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा रहनेछन् । नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्कीलाई सदस्य बनाउन नाम सभामुख घिमिरेलाई दलहरूले उपलब्ध गराएका सभामुखको सचिवालयले जानकारी दिएको छ ।
राप्रपाबाट रोशन कार्कीको नाम आएको छ । बाँकी एमाले माओवादी र रास्वपाले सभामुखले प्रतिनिधिसभामा वाचन गर्ने बेलासम्म समितिमा रहने सदस्यको नाम उपलब्ध गराउने जानकारी दिएका छन् ।
शनिबार सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग गरेको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएको थियो । समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिइएको छ । सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकहरूबिच शनिबार भएको छलफलबाट भएको सहमति अनुरूप आज प्रतिनिधिसभाबाट समिति घोषणा गरिनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij