काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट ल्याउने वातावरण बनाउन मेयर बालेन शाहलाई भेटेरै आग्रह गरेको बताएकी छन् ।सोमबार फेसबुकमा स्टाटस लेखेर उपमेयर डंगोलले बजेट ल्याउने वातावरण बनाउन मेयर शाह, प्रवक्ता र कार्यपालिकाका केही सदस्यसँग छलफल गरेको बताएकी हुन् ।
‘कार्यपालिका र नगरसभाका साथै बजेट तर्जुमा तथा कार्यक्रम समितिमा समेत मैले यस विषयमा कुरा राखेकी छु,’ उनले भनिन्, ‘आइतबार मात्रै पनि मेयरज्यू, प्रवक्ता तथा केही कार्यपालिका सदस्यज्यूहरूसँगको अनौपचारिक भेटघाटमा बोर्ड बैठक र नगरसभा छिटो सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरेको छु।’
छलफलबाट सकारात्मक संकेत पाएको उपमेयर डंगोलले बताएकी छन् । कानुनअनुसार काठमाडौं महानगरपालिकाले असार १० गते नै बजेट प्रस्तुत गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्छ।
तर, आजसम्म पनि बजेट निर्माणका लागि आवश्यक पर्ने कार्यपालिका र नगरसभाका बैठक मात्रै होइन बजेट तर्जुमा तथा कार्यक्रम समिति र मेयर नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति जस्ता महत्वपूर्ण समितिका बैठकसमेत बस्न सकेका छैन।
उपमेयर डंगोलले महानगरवासीले यहाँको विकास, समृद्धि र जनहितमा काम गर्न निर्वाचित गरेर पठाएकाले त्यो जिम्मेवारी पूरा नगरे काठमाडौंबासीलाई धोका दिएको ठहरिने पनि बताइन् ।
‘म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानुनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी, वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ,’ उनले भनेकी छन्, ‘डुंगा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौँ। हामी सबै हातेमालो गरेर अघि बढौँ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij