Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

हराएको भनेको मन्त्रालयको गाडी महन्थ ठाकुरकी छोरीलाई ‘उपहार’ दिएको खुलासा

हराएको भनेको मन्त्रालयको गाडी महन्थ ठाकुरकी छोरीलाई ‘उपहार’ दिएको खुलासा

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले मन्त्रालयकै सरकारी गाडी पार्टी अध्यक्ष महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुर (झा) लाई ‘उपहार’का रूपमा दिएको खुलेको छ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री भण्डारीले पुनः मन्त्री पदमा नियुक्तिमा अध्यक्ष ठाकुरको ‘भूमिका’को बदलामा यस्तो सुविधा प्रदान गरेका हुन्।

गाडी (महिन्द्रा स्कोर्पियो, नम्बर: प्रदेश ३–०१–००२ झ ५३६७) कुनै औपचारिक प्रक्रिया विना निजी प्रयोजनका लागि हस्तान्तरण गरिएको हो।

उक्त घटनाले मन्त्री भण्डारी र श्रम सचिव कृष्णहरि पुष्करबीच तीव्र मतभेदसमेत सिर्जना गराएको छ।

स्रोतहरूका अनुसार, अध्यक्ष ठाकुरले सर्वोन्द्रनाथ शुक्लालाई पछि पार्दै मन्त्रीमा पुनः भण्डारीलाई अघि सारेका थिए। त्यसको ‘इनाम’स्वरूप अध्यक्षकी छोरीलाई वैदेशिक रोजगार बोर्डको सदस्य बनाइनुका साथै मन्त्रालयको सरकारी गाडी समेत सुम्पिएको आरोप लागेको हो। यसअघि पनि मन्त्री भण्डारीले अध्यक्ष ठाकुरका अन्य नातेदारहरू—भान्जा, पिएको छोरा, सवारी चालक र निकट अधिवक्तासम्मलाई मन्त्रालय वा वैदेशिक रोजगार बोर्डसँग सम्बन्धित जिम्मेवारी दिएका थिए।

‘गाडी हरायो–फेला पर्यो’ नाटक ?

उक्त गाडी हराएको देखाएर गृह मन्त्रालयमा पत्राचार गरिएको थियो। सचिव पुष्करको निर्देशनमा गाडी हराएको निवेदन दिइएको थियो। तर केही दिनमै मन्त्रालयमै गाडी ‘फर्किएको’ देखाएर ट्राफिक प्रहरीलाई गाडी फेला परेको पत्र पठाइएको थियो। तर प्रवक्ताले गाडी कसले लगेको थियो, कसरी फेला पर्यो, त्यसबारे कारबाही किन भएन भन्ने स्पष्ट गर्न सकेनन्। ‘गाडी आफैँ आयो, सोधखोज गर्नुपर्ने आवश्यकता देखिएन,’ प्रवक्ताको संक्षिप्त भनाइ यत्तिमै सीमित रह्यो।

सरकारी साधन र स्रोतको यस्तो व्यक्तिगत प्रयोग र राजनीतिक ‘इनाम’को रूपमा वितरण गरिएको खुलासाले सार्वजनिक पदमा रहेको व्यक्तिबाट कानुनी र नैतिक उत्तरदायित्वका गम्भीर प्रश्नहरू उठाएका छन्। यस्तो प्रवृत्तिले प्रशासनिक प्रणालीप्रति नागरिकको विश्वास घटाउने मात्र होइन, शक्ति र संरचनाको दुरुपयोगलाई संस्थागत गर्ने खतरा बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट