Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्री र मलेसिया–नेपाल बिजनेस काउन्सिलका प्रतिनिधिमण्डलको भेट

प्रधानमन्त्री र मलेसिया–नेपाल बिजनेस काउन्सिलका प्रतिनिधिमण्डलको भेट

काठमाडौँ : नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहरूका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरू नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृत रुपमा बुझ्न भ्रमणमा आएको अवगत गराए ।

प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानुनी र संरचनात्मक सुधारहरू गर्दै आएको जानकारी गराउँदै नेपालमा लगानी गर्न आग्रह गरे । उनले आगामी दिनमा के कस्तो सुधार र सहजीकरण आवश्यक छ भन्नेमा सरकार सधैँ व्यवसायीसँग सहकार्यमा रहने जानकारी दिए ।

प्रतिनिधिमण्डलले आफूहरूले नेपालमा फोहोर (प्लास्टिक) प्रशोधन, सूचना प्रविधि उद्यान, पर्यटन आदि क्षेत्रमा काम गर्न उत्सुक भएको जनाएको छ । भेटका अवसरमा नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा र विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे छलफल भएको थियो ।

मलेसियास्थित नेपाली दूतावासको सहकार्यमा आएको उक्त प्रतिनिधिमण्डल तीन दिने यात्राका लागि यही असार १८ गते काठमाडौँ आएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडालगायत सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट