Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नाउपाबाट उद्योगमन्त्री बनेका चौधरीको बर्खास्तीसँगै पार्टीभित्र फेरि कलह

नाउपाबाट उद्योगमन्त्री बनेका चौधरीको बर्खास्तीसँगै पार्टीभित्र फेरि कलह

दाङ : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट मन्त्री बनेका चौधरीलाई बिहीबार मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री शाहले चौधरीलाई राजीनामा दिन असार ५ गते नै आग्रह गरेका थिए। तर चौधरीले राजीनामा दिएका थिएनन्।कृषकका लागि अनुदानमा वितरण गरिएको पावर टिलर (जोत्ने हाते ट्र्याक्टर) का विषयमा लेनदेन गरेको आरोप मन्त्री चौधरीमाथि लागेको थियो।

सोही कारण चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले आग्रह गरेका थिए। मुख्यमन्त्रीको आग्रहलाई बेवास्ता गरेका चौधरी अन्ततः वर्खास्तीमा परेका हुन् ।उनीमाथि खप्तड क्षेत्र पर्यटन विकास समितिको पदाधिकारी नियुक्तिमा पनि चलखेल गरेको आरोप लागेको छ।

सुदूरपश्चिम प्रदेशमा नाउपाका मन्त्री एकपछि अर्को गरी विवादमा परिरहेका छन्। यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका लक्ष्मणकिशोर चौधरीले दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि बनाउँदा आर्थिक चलखेल गरेको आरोप लागेपछि राजीनामा दिएका थिए। उनीपछि मन्त्री बन्न आइपुगेका रामेश्वर चौधरी पनि आर्थिक चलखेलमा मुछिएपछि पद गुमाउन पुगे।

मन्त्री चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टी भने रूष्ट बनेको छ। उसले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वमा नेकपा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार थियो।

यो प्रदेशमा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन्। नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई असर पर्ने देखिँदैन।५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ सांसद भए पुग्छ। कांग्रेस र एमाले मात्रै भए पनि २९ सांसद पुग्छन्।

नाउपाले संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ। चौधरीलाई बर्खास्त गरिएपछि त्यसको प्रतिक्रिया स्वरूप नाउपाले संघ र प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन लागेको हो। यद्यपी संसदीय दलले भने निर्णय गरिसेकेको छैन ।नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको जनाएपनि औपचारिक निर्णय भने गरिनसकेका बताइन् ।

आफ्नो पार्टीबाट मन्त्री बनेका चौधरीलाई बर्खास्त गरिएपछि पार्टीका संरक्षक रेशम चौधरी पनि आक्रोशित देखिएका छन्।उनले सामाजिक सञ्जाल फेसबुकमा विहिबार साँझ नै आक्रोश पोख्दै लेखेका थिए–‘अब हामी प्रतिपक्षमा बस्छौं। जेलबाट हुन्डी खाने सर्वहाराहरू सामाजिक सञ्जालमा कराउँदैछन् ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा नाउपाका एक राज्यमन्त्री छन्। नाउपा सांसद अरूण कुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्। उनी गत साउन १८ गते राज्यमन्त्री नियुक्त भएका थिए।

प्रमुख सचेतक गंगाराम चौधरीले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने सन्दर्भमा संसदीय दलले निर्णय नगरेको जानकारी दिए।उनले भनेन–‘पार्टीले समर्थन फिर्ता लिँदैछ भनेर हामीले पनि फेसबुकबाटै थाहा पाएका हौं। संसदीय दलमा चाहिँ छलफल भएको छैन।’ संघीय सरकारमा नाउपाका चार जना सांसद छन्।

संघ र प्रदेश दुवैतिर प्रतिपक्षमा बस्ने पार्टी नेतृत्वको निष्कर्षप्रति केन्द्रीय नेता र सांसदहरू खुसी छैनन्। संघीय सांसदले निर्णय नै नगरेको प्रतिक्रिया दिएका छन् भने केन्द्रीय नेताले पार्टीभित्र छलफल नै हुन छाडेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट