Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

‘जाली भुक्तानी’ले अड्कायो धरानको बजेट, उपमेयरसँग ‘झगडा’मा छन् हर्क साम्पाङ

‘जाली भुक्तानी’ले अड्कायो धरानको बजेट, उपमेयरसँग ‘झगडा’मा छन् हर्क साम्पाङ

काठमाडौँ: स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नयाँ आर्थिक वर्षका लागि नगरसभामा बजेट पेस गर्नुपर्ने बाध्यता छ। मेयर हर्कराज राई र उपमेयर अइन्द्रविक्रम बेघाबीच विवाद चर्किएपछि बजेट अड्किन पुगेको छ।

सुनसरीमा रहेका १२ वटा स्थानीय तहमध्ये ११ पालिकाले हिजो बजेट सार्वजनिक गर्दा धरानका मेयर र उपमेयरसहितका जनप्रतिनिधि भने अरु पालिकाका बजेटसम्बन्धी समाचारका पाठक मात्र बन्न पुगे।

धरानले बजेटको तयारी नपुगेकाले निर्धारित मिति गुज्रन पुगेको बताइएको छ। बजेट तर्जुमा समितिको बैठक नै बस्न नसकेकाले बजेट ल्याउन नसकिएको उपप्रमुख बेघाले बताए।

मेयरउपमेयरबीचको चर्को विवादका कारण नगरसभाको बोलाउने मिति तोक्न आइतबार बोलाइएको कार्यपालिका बैठक सुरु नहुँदै स्थगित भएको थियो। आइतबारको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतसमेत अनुपस्थित रहे।

उपप्रमुख अइन्द्रविक्रम बेघासहित २८ जना नगरकार्यपालिका सदस्यले कानुनी प्रक्रिया र आवश्यक तयारी नगरी कार्यपालिका बैठक बस्न औचित्य नदेखिएको भन्दै पत्र बुझाएपछि प्रमुख हर्क साम्पाङले बैठक स्थगित गरेका थिए।

‘राजस्व परामर्श समितिले १ अर्ब ६० करोड १५ लाख ४८ हजार बराबरको बजेट हुनुपर्ने भनेर वैशाख ३१ मै प्रतिवेदन बुझाइसकेको थियो। त्यसमा प्रमुखबाट केही छलफल नभई सिधै कार्यपालिका बैठक स्थगितको सूचना आयो,’ उपप्रमुख बेघाले भने ।

स्रोत अनुमान तथा सीमा निर्धारण समिति मेयरको संयोजकत्वमा हुन्छ। ‘तर उहाँको नेतृत्वमा बैठक बसेको छैन। स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बसेपछि बजेट तथा कार्यक्रम तर्जुमा समितिमा छलफल भएर मात्र कार्यपालिका बैठक बस्नुपर्छ,’ उपप्रमुख बेघाको भनाइ छ।

धरान–१६ स्थित बहुभाषिक विद्यालयको ग्याबिन पर्खाल निर्माणमा प्रयोग गरिएको जालीको भुक्तानीसम्बन्धी विषयले मेयर र उपमेयरलाई पाखुरा सुर्किने अवस्थामा पुर्‍याएको हो। मेयर राई जनश्रमदानबाट पर्खाल तथा नालीहरू बनाइरहेका छन्। उनले श्रमदानबाट बनाइएका संरचनामा नगरपालिकाले जाली किन्ने पैसा दिएपछि बेघा मेयरविरुद्ध खनिएका हुन्। त्यसरी नगरपालिकाको पैसा जथाभावी खर्च गर्न नमिल्ने बेघाको भनाइ छ। तर मेयर राई रोकिने पक्षमा छैनन्। यसले विवाद समाधान भन्दा उत्कर्षको लय पक्रिएको छ।

उपप्रमुख बेघाले उपमहानगरको बजेट अनिश्चित रहेको बताए। ‘बजेट हिजै आउनु पर्दथ्यो तर आएन, उनले भने,‘नगरप्रमखले प्रक्रिया अघि नबढाएका कारण नगरसभा रोकियो।’

नगरसभाअघि कार्यपालिका बैठक बस्नु पर्छ। तर कार्यपालिका बैठक कहिले बस्छ टुङ्गो छैन। श्रमदान विवादमा एकसाता अघि सुरु भएको हो। यो विवाद नमिलेसम्म उममहानगरको बजेट अनिश्चित बनेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट