Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएको बताएका छन् ।

पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२ वितरण समारोहलाई सम्बोधन गर्दै उनले अग्रज नेताहरूको सङ्घर्ष, त्याग र नेपाली जनताको ठुलो बलिदानबाट आज हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र त्यही गणतन्त्रको अभीष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गरे ।

उनले सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र हाम्रो संविधानले राखेको लक्ष्य पुरा हुने बताउँदै यो लक्ष्य पुरा गरेमात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुने पनि बताए ।

राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तरबिरोधहरूलाई सूक्ष्म ढङ्गले अभिलेखन गर्न पनि योगदान गर्नु भएको उल्लेख गरे। उनले भने –‘पुष्पलाल कम्युनिष्टहरूबिच पनि फरक चिन्तन र अलग पहिचान बनाउन सफल नेता हो । उहाँ मार्क्सवादी र वर्ग संघर्षको सिद्धान्तबाट आएको नेता भएर पनि लोकतान्त्रिक प्रक्रियाबाटै सबै समस्याको समाधान सम्भव छ भन्ने विश्वासमा अटल भएर उभिएको एउटा असल नेता हुनुहुन्थ्यो ।’

राष्ट्रपति पौडेलले पुष्पलालको चिन्तन नेपाली कम्युनिस्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न एउटा महत्त्वपूर्ण वैचारिक जग भएको बताउँदै उनको यो विचार उपयुक्त थियो भन्ने ०४६ सालको परिवर्तनले पुष्टि गरेको बताए । उनले भने– ‘पुष्पलालको यो चिन्तन नेपाली कम्युनिस्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न एउटा महत्त्वपूर्ण वैचारिक जग थियो भन्ने म ठान्दछु । उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६ सालको परिवर्तनले पुष्टि गर्‍यो । पछि यसलाई मदन भण्डारीबाट बहुदलीय जनवाद भनेर दार्शनिकीकरण गर्ने प्रयास भयो भने जनताको जनवाद र नौलो जनवाद भन्नेहरू हराएर गए ।’

सो अवसरमा राष्ट्रपति पौडेलले राजनीति तर्फको सम्मान शान्त मानवी, इतिहास तर्फको सम्मान डा मेदिनीप्रसाद सेडाई र साहित्य तर्फ राममणि पोखरेललाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट