काठमाडौँ : नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन गराउनका लागि पार्टीले बनाएको महाधिवेशन निर्देशन समितिका संयोजक सहमहामन्त्री किशोरसिंह राठोर अनुपस्थित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको बैठक विनानिष्कर्ष सकिएको छ ।
देउवा निवास बूढानीलकण्ठमा दुजाङ शेर्पा नेतृत्वको तदर्थ समितिलाई नै महाधिवेशन गर्न दिने कि नयाँ बनाउने भन्ने निर्णय लिन सोमबार बैठक बसेको थियो ।
बैठकमा निर्देशन समिति र तदर्थ समितिका अध्यक्षलाई बोलाइएको थियो । बैठकमा निर्देशन समितिका संयोजक सहमहामन्त्री राठोर उपस्थित नभएपछि विनानिष्कर्ष सकिएको हो ।
बैठकमा सभापति देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेविसंघको निर्देशन समितिका सदस्य कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम तथा नेपाली कांग्रेसको विद्यार्थी विभागका प्रमुख राजीव ढुंगाना सहभागी दिए ।
निर्देशन समितिकी सदस्य गौतमले सहमहामन्त्री राठोर बैठकमा उपस्थित नभएको जानकारी दिइन् । ‘सभापतिज्यूले नेविसंघको यही समितिलाई महाधिवेशन गर्न दिने कि नयाँ बनाउने भन्ने छलफल गर्न बोलाउनु भएको थियो । त्यो छलफलमा नेविसंघ निर्देशन समितिका संयोजक रहनुभएका सहमहामन्त्री किशोर दाई (किशोरसिंह राठोर) उपस्थित हुनुभएन,’ गौतमले रातोपाटीसँग भनिन् ।
राठोरले देउवाको सचिवालयबाट बैठकमा बोलावट हुँदा स्वास्थ्य अवस्था ठिक नरहेको भन्दै बैठकमा सहभागी हुन नसक्ने बताएका थिए ।
राठोर स्वतन्त्र विद्यार्थी युनियनको गत गत चैतमा भएको निर्वाचनमा पार्टीले पहिला आफूलाई नेविसंघका तर्फबाट टिक दिने अन्तिम निर्णय लिने व्यक्ति तोकेको तर पछि आफूभन्दा माथि अर्को समिति बनाएपछि असन्तुष्ट रहँदै आएका छन् ।
कांग्रेसले मुलकभर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा देशभर नेविसंघलाई जिताउन महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ८ सहमहामन्त्री रहेको समिति बनाएको थियो । सहमहामन्त्रीहरूलाई प्रदेशसमेत छुट्टयाएर समितिले खटाएको थियो । त्यसपछि राठोर असन्तुष्ट बनेका थिए । ‘पहिला पार्टीले मलाई जिम्मेवारी दिने पछि कसलाई कुन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघको अध्यक्षले टिकट दियो भन्ने दुई घण्टापछि थाहा हुने अनि म निर्देशन समितिको संयोजक भएको के काम ?’ भन्ने प्रश्न राठोरले सभापति देउवा र पदाधिकारीहरूसँग सोधेका थिए । त्यसपछि उनी असन्तुष्ट रहँदै आएका कांग्रेस नेताहरू बताउँछन् ।
सोमबारको बैठकमा अव नेविसंघको तदर्थ समितिले होइन निर्देशन समितिले पार्टीले दिने टिओआरका आधारमा महाधिवेशन गरेर नयाँ कार्यसमिति ल्याउनेबारे छलफल भएको छ । ‘अब तदर्थ समितिले महाधिवेशन गर्ने होइन, पार्टीले दिने टिओआरका आधारमा निर्देशन समितिले महाधिवेशन गरेर निर्वाचित समितिलाई कार्यभार हस्तान्तरण गर्ने हो त्यसका आधारमा अघि बढौँ भन्ने कुराकानी भएको छ,’ गौतमले भनिन् ।
कांग्रेस केन्द्रीय समिति बैठक असार १५ गतेका लागि बोलाइएको छ । त्यसअघि फेरि बैठक बसेर निर्देशन समितिलाई दिने टिओआरका विषयमा छलफल गर्ने गरी बैठक टुङ्गिएको नेताहरूले बताएका छन् । अब बैठक बस्दा पार्टीका सबै पदाधिकारी निर्देशन समिति र तदर्थ समितिसँग बस्ने भन्ने कुरा भएको नेताहरूले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij