Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मेरो परिवारलाई बदनाम गराउनेले सजाय पाउनै पर्छ : परराष्ट्रमन्त्री राणा

मेरो परिवारलाई बदनाम गराउनेले सजाय पाउनै पर्छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू र आफ्नो परिवारलाई बदनाम गराउन तथ्यहीन र भ्रामक भिडियो बनाउनेले सजाय पाउनैपर्ने प्रतिक्रिया दिएकी छिन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै राणाले आफूविरुद्ध भिडियो बनाउने मिडिया सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया शुरु गर्न नमिलेर राज्यको कानून अनुसार नै न्याय खोजेको बताएकी छिन्।

‘उक्त भ्रामक भिडियो पोष्ट गर्नेविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानूनले जे सजाय दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो’, उनले लेखेकी छिन्।

उनले आफूलाई प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा भएको भन्दै मिडियाले जिम्मेवारीबोध र विश्वसनीयता गुमाउन नहुने तर्क गरेकी छिन्। ‘पार्टी (कांग्रेस) को एक जिम्मेवार सदस्य भएकाले मलाई प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा छ’, उनले भनेकी छिन्, ‘तर मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनुहुँदैन भन्ने मेरो धारणा हो।’

लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको उनले बताएकी छिन्।

पत्रकार दिलभूषण पाठकले केही दिनअघि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री राणाका छोरा जयवीरलाई हिल्टन होटलको शेयर प्रकरणमा जोडेर भिडियो सामग्री बनाएका थिए। यो विषयमा परेको उजुरी आधारमा साइबर ब्यूरोले जिल्ला अदालतबाट पाठकलाई पक्राउ पुर्जी लिएर प्रहरी परिचालन गरिसकेको छ। तर पाठक भने तीन दिनदेखि सम्पर्कविहीन छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट