काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताएका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भुमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरू आत्तिएको बताए ।
उनले पार्टीको भुमिका देखेर आतङ्कित भएको बताउँदै पूर्वाग्रह राखेर मुद्दा चलाएको बताए । आफूले कसैसँग एक रुपैयाँ घुस लिएको भए एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए,देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताए । आफूमाथिको चुनौतीको सामना गर्ने बताए । अध्यक्ष नेपालले भने ‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भुमिका महत्वपूर्ण रहेको छ ।
हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्तिहरू आत्तिएका छन् । आतङ्कित भएका छन् । पूर्वाग्रह राखेर बसेका छन् । बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण भर्खरै तपाईँहरूले सुन्नुभयो, म माथि भ्रष्टाचारको मुद्दा लगाउनको लागि पहल भएको छ । भ्रष्टाचारको केस । निर्णयको आधार चाहिन्छ ।
माधव नेपालले कसैसँग एक रुपैयाँ घुस लिएको भए एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए,देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु । मैले भन्ने गरेको छु, नबिराउनु, नडराउनु । जब कुनै कुत्सित मनसाय छैन, निजी स्वार्थबाट कुनै काम भएको छैन भने, आफ्नो फाइदा र लाभको लागि कुनै काम गरेको छैन भने आत्तिनुपर्ने आवश्यकता छैन ।
सबै गलत कुरा, आरोपको विरुद्धमा दृढताका साथ उभिनेछु । मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिनेछ । न्यायको जित हुनेछ । न्यायको जित हुनुपर्दछ । अन्यायको हार हुनुपर्छ । न्यायालयमाथि विश्वास राखेर नै हामी सबै देशमा कानुनको शासनलाई अघि बढाउन चाहिरहेका छौँ ।
यो चुनौती आइलागेको छ, यो चुनौतीको सामना गर्ने हो । कोही मानिसहरु मैदान छोडेर चुनौती देखेपछि भाग्छन्, आत्तिन्छन्, हामीले मैदान छोड्ने होइन ।’ अध्यक्ष नेपालले असल उद्देश्यका गरिएको काममा आत्तिनुपर्ने आवश्यकता नरहेको जिकिर गरे । आफूबाट कुनै भ्रष्टाचारजन्य काम नभएको दाबी गरे । विचार र मन मिलेन भन्दैमा शत्रुता राख्न नहुने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij