भक्तपुर : सार्वजनिक शिक्षाको सुधार नभएसम्म शिक्षामा आमूल परिवर्तन खोज्नु आदर्शका गफ मात्र हुने शिक्षाविद्हरुले बताएका छन् । यसका निम्ति शैक्षिक अनुसन्धानमा व्यापक छलफल बहस र लगानीको खाँचो रहेको औंल्याएका छन् ।
सार्वजनिक शिक्षामा सुधार ल्याउन शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालासँग शिक्षा पत्रकार समूह र काठमाण्डौं विश्व विद्यालय स्कूल अफ आर्टले संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी व्यापक छलफल गरेको हो । सर्वसाधारणको शिक्षामा पहुँच वृद्धि र शैक्षिक अनुसन्धानमा ठूलो लगानी गर्नुपर्ने खाँचो जानकारहरुले औल्याएका छन् ।
कार्यक्रममा काठमाण्डौ यूनिभर्सिटी स्कूल अफ आर्टका प्रमुख डा. विनायक थापा, शिक्षाविद् डा. विष्णु कार्की, शिक्षा नीति तथा अभ्यास केन्द्रका प्रमुख टिका भटराइ, शिक्षा शास्त्र केन्द्रिय विभागका नमराज नेउपाने, सिवीनका अध्यक्ष माधव प्रधान, सामुदायिक विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष, कृष्ण थापा, एनसीइ नेपालका उपाध्यक्ष सुवेन्द्रमान श्रेष्ठ, व्रिटीस काउन्सिलका शेखर सापकोटा, पद्म कन्या बिद्याश्रमका प्रधानाध्यापक रीता तिवारी, इक्यानका अध्यक्ष शेषराज भटराइ, सेभ द चिल्ड्रेनका प्रनिनिधि, शिक्षक महासंघका सह अध्यक्ष नानुमाया पराजुली र सचिव कल्पना पनेरु सिंखडा, CEHRD का शान्ती बिस्ट, अभिभावक संघ नेपालका सचिव प्रविण निरौला, मिडीया कर्मीहरुले शिक्षाक्षेत्रको सुधारमा राज्यले लगानी गर्नुपर्ने धारणा राख्नु भयो ।
शिक्षकका विभिन्न पेशागत संघ, संगठनहरु राजनैतिक दलका भर्याङ्ग बनेका कारण समग्र शिक्षा अग्रगति तिर भन्दा पनि पश्चगतीमा गएको जिकिर उनीहरुको छ ।शिक्षा क्षेत्रको परिवर्तनमा सबै समर्पित भएर नलागे देशमा शैक्षिक जनशक्ति नरहने धारणा उनीहरुको छ । राज्यको नीति निर्माण तहमा बसेकाहरुले बेलैमा यस विषयमा नसोचे देशको शैक्षिक अवस्था झन् खस्किने दावी जानकारहरुको छ ।
आवश्यक ज्ञान, सिप र अभिवृत्ति तथा सामाजिक जीवनका लागि नैतिकता, असल आचरण र व्यवहार विद्यार्थीले विद्यालयबाटै सिक्ने भएकाले विद्यालयका बारेमा समाजले समाजकै सोच्नु पर्ने तर्क उनीहरुको छ ।
शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिको सहजीकरणमा भएको अन्तरक्रिया कार्यक्रममा बालबालिकाको सुन्दर भविष्य निर्माणको गहन अभिभारा बोक्ने दायित्व सबैको भएकाले सार्वजनिक शिक्षामा सुधार ल्यानुपर्ने र यस विषयमा कुनै पनि लापरबाही हन नदिन खबरदाजी जरुरी रहेको तर्क सरोकारवालाको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij