काठमाडौँ : मधेश एशोसिएसन इन अमेरिका (माँ) को चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल किन अमेरिका जस्तो बन्न सकेन भन्ने प्रश्न उठाएका छन् ।उनले अमेरिकालगायत देशमा बसोबास गर्ने नेपालीबिच नेपालको भविष्यप्रति उठ्ने चिन्ता र जिज्ञासालाई गम्भीरसाथ लिनुपर्ने बताए ।
'अमेरिकाजस्तो नेपाल कहिले बन्छ ? नेपालीको एक नम्बरको प्रश्न यही हो,' अध्यक्ष महतोले भने, 'तर त्यसको उत्तर खोज्ने काम कसैले गर्दैन । अब हामी सबैले यसको जवाफ खोज्नुपर्छ ।'
अध्यक्ष महतोका अनुसार नेपालको प्राकृतिक स्रोत र सम्भावनाहरू अपार छन् तर त्यसको समुचित उपयोग हुन नसक्नु नै पछौटेपनको मुख्य कारण हो । 'नेपालमा रहेको जलविद्युत्, पर्यटन र प्राकृतिक सुन्दरता यदि सही तरिकाले विकास गरियो भने नेपाल विश्वकै सम्पन्न मुलुक बन्न सक्छ,' महतोले भने, 'तर इच्छा शक्ति चाहिन्छ, जुन अहिलेसम्म देखिएको छैन ।'
उनले संविधान र शासकीय संरचनाको अस्थिरता नेपाल विकासमा पछाडि पर्नुको अर्को मुख्य कारण भएको बताए । ७० वर्षमा १० वटा संविधान बनेको तर एउटा पनि साझा संविधान बन्न नसकेको उनले जिकिर गरे । उनले गणतन्त्र र संघीयताको नाममा पनि नेपाल अझै एकल मानसिकतामा सञ्चालित रहेको टिप्पणी गरे ।अध्यक्ष महतोले साझा राष्ट्र निर्माणको अवधारणा अगाडि सार्दै राणा र राजाका पालाजस्तै अहिले पनि एकल सोच हाबी रहेको बताए । साझा नेपाल बनाउने सोच अझै विकास नभएको बताए ।
उनले विकासका लागि अन्तर्राष्ट्रिय साझेदारीको खाँचो औँल्याउँदै भने, 'कुन देशसँग विकास साझेदारी गर्ने भन्नेबारे नेपालले सोच्नुपर्ने वेला आएको छ । विश्वमा थुप्रै देश नेपालभन्दा बढी गरिब थिए, तर आज ती समृद्ध बने । हामीले उनीहरूको बाटो अध्ययन गर्नुपर्छ ।'
महतोले विदेशमा बस्ने नेपाली समुदायको भूमिकालाई पनि महत्व दिएका छन् । 'नेपाल बनाउन तपाईं हामी सबैले सोच्नुपर्छ,' उनले अमेरिकालगायत मुलुकमा रहेका नेपालीलाई देशको विकासमा योगदान गर्न आह्वान गरे ।
सम्मेलनमा मधेशका विविध विषयमा छलफल भए पनि अध्यक्ष महतोको सम्बोधनले नेपाल समृद्धि र साझापनको बहसमा नयाँ धार सिर्जना गरेको विश्लेषण गरिएको छ । सम्मेलनमा सहभागीहरूका अनुसार अध्यक्ष महतोको सम्बोधनले मधेश मात्र नभई सम्पूर्ण नेपाली समाजमा गहिरो प्रश्न उठाएको छ
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij